शुक्रबार, जेठ १०, २०८२

एमालेले महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाउने

नेपालखोज २०७८ कार्तिक २३ गते १३:१०

काठमाडौं । नेकपा (एमाले)ले आफ्नाे १०औं महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाउने भएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनकाे खर्च पार्टीका सदस्यबाट उठाउने भएको हाे ।

एमालेले पार्टी सदस्यबाट लेभि उठाउने निर्णय गरेकाे छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय भएको जानकारी दिए ।

नेकपा (एमाले)को सदस्य संख्या सात लाख छ । यसबाट सात करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट दुई हजार रुपैयाँ र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार रुपैयाँ उठाइने उनले जानकारी दिए ।

लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुंगाे लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए । महाधिवेशनमा बिद्युतीय उपकरणबाट मतदान गरिने छ । मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ ।

बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ । सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए ।

यसअघि नवौं महाधिवेशनमा ६ करोड रुपैयाँ र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको उनले बताए । नेकपा एमालेको केन्द्रिय समिति २२५ सदस्यीय छन् ।

तीमध्ये १५ पदाधिकारी रहेका छन् । पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ । उनीहरु महाधिवेशनबाट निर्वाचित हुने छन् ।

महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । रासस

प्रतिक्रिया