‘चिसोसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्छ, सचेत रहौं’

काठमाडाैं । जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । काठमाडौंसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आमनागरिकलाई आग्रह गरेका हुन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।
उनले अहिलेको मौसम कोरोनासँगै फ्लुको संक्रमण बढी हुने भएकाले यसले श्वासप्रश्वासमा समस्या आउने बताए । कन्सलट्यान्ट फिजिसियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे ।
त्यस्तै उनले यस्ता फ्लुहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावी नाक, कान, मुख नचलाउन पनि आग्रह गरे । उनले यस्ता भाइरसबाट बच्नका लागि झाेलिलाे खानेकुरा खान र खाेप अनिवार्य लगाउनुपर्ने पनि बताए ।
कन्सलट्यान्ट फिजिसियन डा. ढुंगेलले सबै नागरिकले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कोभिड-१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए ।
उनले २०२२ को लागि नयाँ इन्फ्लुएन्जाको खाेप आउन लागेको बताउँदै कोभिडविरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लुएन्जाको खाेप डाक्टरको सल्लाहबमोजिम लगाउन मिल्ने पनि बताए ।
प्रतिक्रिया