मंगलबार, जेठ ७, २०८२

देउवाले पूर्वराजालाई भने- चुनाव लडेर शासन गरे हुन्छ

नेपालखोज २०७८ कार्तिक २४ गते १२:५१


काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा बुधबार (आज) आयोजना गरेको कार्यक्रममा उनले शासन गर्न चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिए ।

उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए । उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहीत हुनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए । उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए ।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपत् आइरहेको बताए । उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढीरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) का कारण देशका हिमालहरुमा हिउँ पर्न छाडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया