बसमा आगलागी हुँदा १२ यात्रु घाइते

धनुषा । धनुषामा बसमा आगलागी हुँदा १२ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ ।
आज बिहान ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमाआफैँ आगो लागेको बताए।
प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्यांकी फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताए । घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन ।
घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले वारुणयन्त्रको मद्दतले नियन्त्रण लिएको थियो । आगोमा परि अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।
प्रतिक्रिया