‘न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नु पर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिकाभित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिकाभित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताए ।
उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरु आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यता अनुसार त्यहीभित्रबाट निकास खोज्नुपर्ने बताए ।
उनले भने– ‘अहिले दलहरुले एजेण्डा बनाउने विषय पनि होइन । दलहरुको क्षेत्राधिकार भित्रको विषय पनि पर्ने कुरा भएन । भविष्यमा संसदमा एजेण्डा बन्यो या कार्यपालिकाको एजेण्डा बन्यो भने त्यो बेलामा दलहरु आकर्षित हुने कुरा एउटा पाटो भयो । अन्यथा अहिले दलहरुको एजेण्डा बनिसकेको जस्तो लाग्दैन । अहिले न्यायालय लगायतका कुनैपनि निकायभित्र पैदा भएको समस्याको समाधान त्यहीँबाट खोज्नु नै उपयुक्त हुन्छ । संविधानको भावना र मर्म अनुसार, न्यायपालिकाको स्वतन्त्रताको मान्यता अनुसार त्यही ढंगले निकास खोज्नुपर्छ भन्ने लाग्छ ।’
उनले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भूमिका खेल्ने बताए । नेता गुरुङले एमसीसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसीसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता खगराज अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने विषयमा एमालेले छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले न्यायाधीशहरुले राजनीतिक दलको भाषा बोल्नु नहुनेमा जोड दिए । न्यायालय सधैभरी सम्मानित भइराख्नुपर्ने उनको भनाई छ ।
नेपाली कांग्रेसकी नेतृ तथा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले न्यायालयलाई विवादमा पार्नु नहुने बताए । न्यायालयमा राजनीति गर्नु नहुने उनको भनाई छ । गठबन्धन सरकार पनि स्थिर रुपमा जानु पर्नेमा जोड दिदैँ उनले मुलुकमा स्थायित्व दिने र नागरिकको जिउ धनको सुरक्षा गर्ने दायित्वमा सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री रेग्मीले गठबन्धनमा बिग्रह नहोस् भन्ने हेतुले गठबन्धनलाई मजबुद पार्नका लागि पाँच दलीय गठबन्धन समन्वय समिति बनाइएको बताए । आगामी निर्वाचनसम्म सरकारलाई सही किसिमले अगाडी बढाउनको निम्ति समिति आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया