आइतबार, जेठ ५, २०८२

केराबाट लाखौँकाे कमाइ !

नेपालखोज २०७८ कार्तिक २६ गते १४:२८


काठमाडौं । तिहार र छठ पर्वमा लाखौँ मूल्यको केरा बिक्री भएको छ । उदयपुरको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ ।

त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।

जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा एक लाख ५० हजार रुपैयाँ भन्दा बढीको केरा बिक्री गरेको बताउँछन्। तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झन्डै आठ लाख रुपैयाँ भन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउँछन् । चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताए ।

हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दशाैँ लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउँछन् । यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झन्डै आठ लाखको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताए ।

उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै आठ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको चौधरी बताउँछन् । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताए ।

कोरोना संक्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन । दसैँ, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताए । उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो । केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक दुई करोड रुपैयाँ भन्दा बढीको केरा बिक्री हुने गरेको छ । –रासस

प्रतिक्रिया