कोरोनाविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्दै सरकार

काठमाडाैं । सरकारले कोरोनाविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप बचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ ।
खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यो खोप १२ वर्षभन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए ।
उनले यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने बताए । उनले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताए ।
प्रवक्ता पौडेलले भने, डिमाण्ड जति भए पनि दीर्घरोगीलाई नै दिइन्छ, हामीले अल्ट्रा पोल्ट नभएर मात्रै नेपालमा चलाउन नसकेको हो, हामीलाई हाम्रो प्रणालीले यो खोप पनि चलाउन सक्छ भनेर देखाउने परिक्षण हो यो हाम्रो प्रणाली र सिस्टमको ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताए । उनले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताए ।
प्रतिक्रिया