आइतबार, जेठ ५, २०८२

प्रेस काउन्सिलले भन्याे- समाचारदातालाई काममा फर्काऔं

नेपालखोज २०७८ कार्तिक २६ गते १६:३१

काठमाडौं । प्रेस काउन्सिल नेपालले गोरखापत्र दैनिकमा कार्यरत समाचारदातालाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिल अन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराइएको र सेवाबाटै निष्काशन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न-नगराउन सम्बन्ध सबै पक्षसँग आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया