शुक्रबार, जेठ ३, २०८२

‘नेपाली पौरख र गौरवभित्र लुकेका प्रतिभालाई विश्व सामु चिनाउनु पर्छ’

नेपालखोज २०७८ कार्तिक २८ गते ११:३२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौं प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्व सामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औं प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे ।

समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड दिए । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा संग्राहलय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाए । सभामा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए । –रासस

प्रतिक्रिया