‘बारको आन्दोलन राजीनामामा मात्रै नभइ केही व्यक्तिको सम्पतिको छानविनको बिन्दुमा पुगेर टुंगिन्छ’

काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले न्यायपालिका शुुद्धिकरणका लागि नेपाल बार एसोसिएसनले गरेको आन्दोलनप्रति राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना सकेपछि बार भवन परिसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता खरेलले न्यायपालिकाको सुद्धिकरणका लागि गरिएको आन्दोलनप्रति राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराए ।
उनले बारले विभिन्न समयमा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेको स्मरण गराउँदै बारको सो भूमिकालाई राजनीतिक दलहरुले बिर्सनु नहुनेमा जोड दिए । बारको अहिलेको आन्दोलन राजीनामामा मात्रै नटुंगिइ केही व्यक्तिहरुको सम्पतिको छानविनको बिन्दुमा पुगेर मात्रै टुंगिने उनले बताए ।
त्यस्तै, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए उनलाई प्रधानन्यायाधीशको कुर्सी छुन नदिने अवस्था पनि आउन सक्ने बताएका छन् । बारले कुर्सी छाड्नका लागि नाराबाजी गर्नुपर्ने अवस्था आउनेतर्फ उनले सचेत गराए । उनले भने, ‘सायद यसपछि भन्नुपर्ने स्थिति आउँछ, डन्ट टच द चेयर । तपाई यति पोलुटेड हुनुभयो, अब तपाईँले त्यो कुर्सी छुन पनि कुर्सीप्रतिको अन्याय हुन्छ भन्ने अवस्था आउनसक्छ । कुर्सी छोड भन्ने नारा लाग्न सक्छ ।’
त्यस्तै, वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेसरह मानेर अस्वीकार गरेको बताए । प्रधानन्यायाधीश जबराले गर्ने कुनै पनि कामप्रति बारको सहमती नहुने उल्लेख गरे । वरिष्ठ अधिवक्ता शाक्यले आफूहरुको अभियान ब्याक गियर नभएको अभियान भएको उल्लेख गर्दै बटम लाइन भनेकै प्रधानन्यायाधीशको राजीनामा भएको स्पष्ट पारे ।
प्रतिक्रिया