अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा तीन नाइजेरियनसहित सहयोगी नेपाली पक्राउ

काठमाडौं । बिहार राज्यको मधुबनी जिल्लामा एसएसबीले भारत-नेपाल सिमाबाट अवैध रूपले भारत प्रवेश गर्न खोजेका तीन जना नाइजेरियन नागरिकसहित तीन जना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ ।
नेपाली भनिएका तिनै जनाले नाइजेरियनहरुलाई अबैध रुपमा भारत प्रवेश गर्न सहयोग पुर्याएको आरोप छ । उनिहरु सबै नेपाली नम्बरको एक टेम्पोमा बसेर भारत प्रवेश गरिरहेका थिए । भारतीय पक्षले दिएको जानकारीअनुसार ती नाइजेरियनहरुसँग भारत प्रवेश गर्न सक्ने कुनै वैधानिक कागजात थिएन्।
पक्राउ परेकाहरुमा नेपाली गाइड भनिएका सिरहाका धर्मेन्द्र कुमार यादव, रितेश कुमार तथा टेम्पो चालक जयनाथ साह भएको बताइएको छ । पक्राउ परेका नाइजेरियन नागरिकमा एन्थनी ओनुओरा (७८), क्रिशियन उदोचक्वु (८०) तथा फाइडेलिस उदोचक्वू ओबालिमो छन् । ति तीनै जना नाइजेरियन नागरिक काठमाडौं हुँदै सिरहा पुगेका बुझिएको छ ।

सिरहामा उनिहरु महादेव होटलमा बसेका थिए । शुक्रवार उनिहरु टेम्पो भाडामा लिएर दुई नेपाली नागरिकको सहयोगमा जयनगर पुग्न चाहन्थे । जयनगरबाट उनिहरु दिल्ली पुग्ने लक्षमा थिए । यसबिचमा उनिहरु भारतीय सुरक्षाकर्मीहरुको फेला परे। अहिले उनिहरुसँग भारतीय एएसपी डा शौर्य सुमनका साथै एसएसबी तथा गुप्तचर विभागका भारतीय अधिकारीहरुले सोधपुछ गरिरहेको बताइएको छ । एसएसबीका वरिष्ठ अधिकारी चन्द्रशेखरले तीन नाइजेरियन नागरिकसँगै तीन नेपाली नागरिक पनि पक्राउ परेको पुस्टि गरेका छन् ।

उता जयनगरका एएसपी डा शौर्य सुमनले भनेका छन, ‘हिरासतमा भएकाहरुसँग गहन सोधपुछ भैरहेको छ । ती नाइजेरियनहरुसँग भारत प्रवेश गर्न पाउने कुनै कागजात छैन्।’ एएसपी डा शौर्यले पक्राउ परेका तीन जना नेपाली अवैध रूपले भारतीय क्षेत्रमा प्रवेश गरेका नाइजेरियन नागरिकहरुको सहयोगीका रुपमा देखिएको जानकारी दिएका छन् ।
२०१९ को डिसेम्बरमा भारतीय रेलवे पुलिसले एक नाइजेरियनलाई नेपालको बाटो हुँदै जयनगर आएर कोलकाता जाने क्रममा पक्राउ गरेको थियो, जसलाई पछि न्यायिक हिरासतमा पठाइएको थियो। जयनगर स्टेशनबाट पक्राउ परेका ति नाइजेरियन नागरिकको नाम थोमस भएको र उनीसँग पनि भारत प्रवेशको अनुमति नभएको बताइन्छ ।

त्यसैगरि केही साता अघि मात्र तीन विदेशी युवती नेपालको बाटो हुँदै भारत प्रवेश गरि दिल्ली जाने क्रममा दुई नेपाली सहयोगीसहित पक्राउ परेका थिए । युक्रेनका भनिएका ती युवतीसँग पनि वैधानिक अनुमति नभएको बताइएको थियो।
प्रतिक्रिया