सिभिल लघुवित्त दोहोरो अंकमा सेयर धनीलाई लाभांश वितरण गर्न सफल

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) को १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आज (आईतबार) बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ्ग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले पूर्व मेचीदेखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए ।
साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।
सभाले आर्थिक वर्ष २०७७–०७८को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांशसहित अन्य प्रस्तावहरु पारित गरेको छ । सभाका अध्यक्ष सचिनजङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै साधारण सभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरुमार्फत ५८ हजार भन्दा बढि सदस्यहरुलाई लघु वित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी रु. ३अर्ब २७ करोड भन्दा बढी लगानी गरेकोे छ ।
प्रतिक्रिया