न्यायालयमा देखिएको समस्या समाधान गर्न एकीकृत अवधारणा बनाउन अपिल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु र न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरु र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको एकिकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
बैठकले पार्टी कार्यकर्ताहरुलाई विपत् जोखिम न्युनिकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपत्को बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारीरुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको उनले जानकारी दिए ।
बैठकले हालै गठन भएको पाँच दलीय गठबन्धन समन्वय समितिलाई स्वागत गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई निर्वाचनसम्म लैजान यसले शसक्त भूमिका खेल्न पहलकदमी लिनेमा विश्वास व्यक्त गरेको छ । बैठकले गठबन्धनलाई कसिलो बनाउन आव्हान गरेको पनि प्रवक्ता खतिवडाले बताए ।
केन्द्रीय कमिटी बैठकले राष्ट्रिय जनगणनामा सही तथ्यांक दिएर सहभागिता जनाउन सबैलाई आग्रह गर्दै कालापानी र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । प्रवक्ता खतिवडाले यसबारे बैठकको निर्णय जानकारी गराउदै भने,‘कालापानी र लिम्पियाधुरा क्षेत्रमा जनगणनाको कुरा अवरोधमा भइरहेको हुनाले सरकारले तत्काल यसको व्यवस्था गर्न र जनगणनाको व्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।’
एकीकृत समाजवादीले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँसमा गरिएको मुल्यवृद्धि यथाशिघ्र फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ । शनिवारदेखि बसेको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको छ ।
प्रतिक्रिया