नेपाल बार र सर्वोच्च बारको प्रधानन्यायाधीशलाई जवाफ- तपाईंसँग संवादमा बस्न सकिँदैन

काठमाडाैं । आन्दोलनरत नेपाल बार एसाेसिएसन र सर्वोच्च अदालत नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संवादमा बस्न नसकिने जवाफ दिएका छन् ।
प्रधानन्यायाधीश जबराले न्यायालयको संकट समाधानका लागि संवादमा आउन आग्रह गर्दै सोमबार जारी गरिएको विज्ञप्तीको जवाफ दिँदै नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत नेपाल बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले वार्तामा बस्नै नसकिने बताएका हुन् ।
सोमबार पनि सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष श्रेष्ठले संवादमा बस्न नसकिने भन्दै तत्काल राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई दबाब दिए ।
उनले न्यायपालिकाको जनआस्था कायम राख्नका लागि, जनतालाई न्याय दिलाउनका लागि एक मात्रै उपाय भनेको प्रधानन्यायाधीश जबराको राजीनामा भएको दोहोर्याए ।
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्ने मूल ढोका बन्द गर्ने नै प्रधानन्यायाधीश जबरा भएकाले उनीसँग संवाद गर्ने पक्षमा आफूहरु नरहेको सर्वोच्च अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले बताए ।
उनले जबराले प्रधानन्यायाधीश पद त्याग गरेपछि न्यायालयको सुदृढीकरणका लागि नयाँ नेतृत्वसँग संवाद र वार्ता हुने स्पष्ट पारे ।
पूर्वमहान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले गरिव जनतालाई न्याय दिलाउन, संविधानको संरक्षण गर्नका लागि प्रधानन्यायाधीशको राजीनामा माग गर्नु परेको स्पष्ट पारे ।
उनले आम जनताका लागि अरु नबोलेपनि कानुन व्यवसायीहरु छन् भन्ने प्रतिवद्धता जनाउन पनि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भइरहेको बताए ।
वरिष्ठ अधिवक्ता संग्रौलाले प्रधानन्यायाधीश जबराले निष्पक्ष र स्वच्छ न्याय दिने अवस्था नभएको पटकपटक दोहोर्याउँदै तत्काल राजीनामा दिन दबबा दिए ।
प्रतिक्रिया