भूमि सम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उदेश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छन् ।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुती कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरुले गरेका कामहरुलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अव ढिलाई गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन् ।
मन्त्री श्रेष्ठले भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासी सम्बन्धी समस्या फेरी पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्नसमेत आयोगका पदाधिकारीहरुलाई आग्रह गरिन् ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडी बढेको बताईन ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापि विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया