‘श्रमिकको आधारभुत अधिकार सुनिश्चिता गर्न सरकार प्रतिवद्ध’

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मर्यादित श्रमको अवधारणाअनुरुप सबै श्रमिकको आधारभुत अधिकार सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आफूसँग भेट गर्न मन्त्रालय पुगेका अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डसँगको छलफलमा उनले नेपालको संविधानले रोजगारीको हकलाई मौलिक हकको रुपमा राखेको र सबै श्रमिकलाई उचित श्रम अभ्यास गर्न पाउने गरी श्रमको हक प्रत्याभूति गरेको स्मरण गराए ।
श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले श्रमलाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने रणनीति कार्यान्वयन गर्न सरकार अगाडि बढेको बताए ।
भेटमा आइएलओका नेपाल निर्देशक होवार्डले श्रम प्रशासन सुधार, सीपयुक्त जनशक्ति निर्माणमा आइएलओले नेपालसँग थप साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र संघको विशिष्टकृत संस्था अन्तराष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो ।
आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ ।
प्रतिक्रिया