बुधबार, जेठ १, २०८२

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

नेपालखोज २०७८ मंसिर १ गते १४:५४

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विश्वासको मत पाउन सफल भएका छन् । आज प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका राई कांग्रेससहित ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपथित हुनु भएको थियो । मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन।

सभामुख भण्डारीले भने, ‘प्रदेश सभामा तत्काल कायम रहनु भएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यहरु मध्ये आजको मतदानमा उपस्थित माननीय सदस्यहरुको संख्या सभामुख बाहेक ७९ रहेको छ । माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ ।

त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र, मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ । माननीय सदस्यहरु, माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ, भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ५० मत परेकाले उक्त मत प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको ९२ जना सदस्य संख्याको बहुमत भएको हुँदा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

यस अघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया