बिहीबार, जेठ २, २०८२

कर प्रणालीलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण

नेपालखोज २०७८ मंसिर १ गते १९:३८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्व संकलनमा केन्द्रीत भई कर प्रणालीलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा बुधबार १०औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउन भन्दा कर संकलनलाई व्यवस्थित बनाउने तर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनको लागि बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्त दुरुस्त हुन नसकेको बताए । उनले सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसक्दा विकास खर्च बढ्न नसकेको बताए । अध्यक्ष गोल्छाले सरकारले बजेट निर्माण गर्दा नै आयोजनाहरु छनोटको प्राथमिकता निर्धारण गरि अनावश्यकलाई समावेश गर्न नहुने तर्क गरे ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले प्रक्षेपण गरे अनुसार राजश्व संकलन हुन नसकेको बताएका छन् । नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्षदेखि बहुदर प्रणाली लागु गर्न माग गर्दै आएपनि अहिलेसम्म लागु हुन नसकेको गुनासो गरे ।

त्यस्तै, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यबाहक अध्यक्ष डम्बरदेब अर्यालले सरकारले ग्रामिण उद्योगलाई कर मुक्त क्षेत्रको रुपमा घोषणा गर्ने नीति लिनुपर्ने बताए । ग्रामिण उद्योगलाई कर मुक्त गरे वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम हुदै जाने तर्क उनले गरे । कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । सर्वाधिक कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ ।

त्यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन् । निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी कर बुझाएको छ । विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स रहेको छ ।

प्रतिक्रिया