‘राजतन्त्र फिर्ता आउने नआउने कुरा पहिले राजाबाटै धारणा आउनु पर्छ’

काठमाडौं । नवगठित एकीकृत शक्ति नेपालले राजतन्त्रका सम्बन्धमा आफ्नो धारणा स्पष्ट गर्दै राजतन्त्र फिर्ता आउने कुरा पहिले राजाबाटै धारणा आउनुपर्ने बताएको छ ।
काठमाडौंमा एकीकृत शक्ति नेपालले आयोजना गरेको सम्पादकहरुसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा पार्टीका अध्यक्ष देवप्रकाश त्रिपाठीले राजा फिर्ता आउने नआउने पहिले राजाकै धारणा आउनु पर्ने र त्यस पछि मात्रै केही भन्ने स्थिति रहने बताए ।
अध्यक्ष त्रिपाठीसहित वरिष्ठ उपाध्यक्ष डा रामप्रसाद उप्रेती तथा महासचिव डा. डिपी तिमिल्सिनाले सम्बोधन गरेको उक्त भेटघाटमा एकीकृत शक्ति नेपाल राष्ट्रिय राजनीतिमा विकल्प चाहनेहरुका लागि स्पष्ट धारणा र योजनासहित प्रस्तुत हुने कुरा बताइयो ।
वर्तमान संविधान २३ ठाउँमा सम्बोधन गरि सबै नेपाली अट्न सक्ने बनाउनु पर्ने होइन भने संविधान नै परिवर्तन गर्नुपर्ने स्थिति उत्पन्न हुने भन्दै पार्टीका अध्यक्ष त्रिपाठीले सबै धर्मको संरक्षण गर्दै देशलाई हिन्दू राज्य घोषणा गर्नुपर्ने बताए ।
साथै उनले प्रदेश संरचना खारेज गरि दुई तहको संरचना मात्र राखिनुपर्ने, जातिय आरक्षणमा परिमार्जन गरि सबैको विकास हुने व्यवस्था गर्ने तथा २०४६ यताका सबै नेताको सम्पत्ति छानबिन हुनुपर्ने कुरा बताए ।
उनले जनमत संग्रहले समाज र देशमा विभाजन ल्याउने भन्दै जनमत संग्रह भन्दा अन्य उपाय अपनाउनु पर्नेमा जोड दिए । उनले अहिले न्याय पैसावालाहरुको मात्र भएको बताउँदै न्यायपालिकाको पुर्न संरचना गर्दै गरि खानेले न्याय पाउने व्यवस्था स्थापित गरिनु पर्ने बताए ।
नवगठित पार्टीको धारणा साटन आयोजित भेटघाटमा अहिलेको संविधान र देश सँग(सँगै अघि बढन नसक्ने कुरामा जोड दिँदै अध्यक्ष त्रिपाठीले अहिले र राष्ट्रियता र देश संकटमा परेको दाबीसमेत गरेका छन् ।
प्रतिक्रिया