इन्डोनेसियामा क्रिप्टोकरेन्सी ट्रेडिङमा रोक

काठमाडौं । इन्डोनेसियासमेत संसारभर क्रिप्टोकरेन्सीको कारोबार तिव्र गतिमा बढेको छ। यहि कारोबारलाई मध्यनजर गर्दै इन्डोनेसियाको उलेमा काउन्सिलले एक उर्दी जारी गरेको छ, जसमा दक्षिण पूर्व एसियाली देशमा क्रिप्टोकरेन्सी वा डिजिटल मुद्राको कारोबारलाई अनुमति प्रदान गर्न नहुने कुरा बताईएको छ ।
उलेमाले यसलाई इस्लामिक कानुन विरुद्धसमेत बताएको छ । २७ करोड जनसंख्या भएको दक्षिण पूर्व एसियाली राष्ट्र इन्डोनेसियामा यस्तो फतवाको कुनै कानुनी मान्यता नभए पनि यसले मुसलमान बाहुल्य यो देशका नागरिकहरुलाई क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न नैतिक दबाव सृजना गर्ने पक्का छ।
उलेमा काउन्सिल मुस्लिमहरुलाई मार्ग दर्शन गर्न स्थापित शक्तिशाली धार्मिक निकाय हो । काउन्सिलले एक बैठक पछि जारी गरेको फतवाका अनुसार क्रिप्टोकरेन्सीको व्यापार गर्नु जुवा समान हो र इस्लामले जुवालाई प्रतिबन्धित गरेको छ ।
काउन्सिलको फतवा विभाग प्रमुख असरुन नियाम सलेहले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार, क्रिप्टोकरेन्सीको कारोबारमा भएको अनिश्चितताका कारण डिजिटल सम्पतिका रूपमा यसको खरीद- बिक्री अवैध छ । यो हराम काम हो । यो काम जुवामा दाउ लगाए जस्तै हो । सलेहका अनुसार यो डिजिटल मुद्राको मूल्यमा यति तिब्र गतिमा उतार-चढाव आउँछ, जुन इस्लामिक नियम तथा विनिमयहरुको विरुद्धमा छ ।
हालको वर्षमा संसारका अन्य मुलुक जस्तै इन्डोनेसियामा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको कारोबार नाटकीय रूपले बढेको छ । इन्डोनेसियाका वाणिज्य मन्त्री मोहम्मद लोत्फीले गएको जुनमै क्रिप्टोकरेन्सीले २०२१ को पहिलो पाँच महिनामा इन्डोनेसियामा २६ अरब डलर बराबरको व्यापार गरेको जानकारी दिएका थिए ।
यता इन्डोनेसियाको केन्द्रिय बैंक भने डिजिटल मुद्रा जारी गर्ने सोचमा छ । बैंकको यहि सोच बाहिर आए पछि उलेमाले उक्त उर्दि जारी गरेको हो । उलेमा काउन्सिलले २०१९ मा मानिसहरुलाई वास्तविक जीवनमा हिंसाका लागि उक्साउने जोखिम बढेको भन्दै अनलाइन गेम पब्जिलाई गैर-इस्लामिक घोषित गरेको थियो । यसैगरि उलेमाले हालै अनलाइन ऋणका विरुद्ध पनि फतवा जारी गरेको थियो ।
स्रोत : एएफपी
प्रतिक्रिया