बिहीबार, जेठ २, २०८२

१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई धमाधम खोप लगाइँदै

नेपालखोज २०७८ मंसिर ५ गते १६:०३

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिएको बताएका छन् ।

समाजवादी प्रेस संगठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले छिमेकी राष्ट्र भारत तथा चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड सङ्क्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकारले खोप ल्याउन सुरु गरिसकेको बताए ।

त्यस्तै, उनले संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए । उनले कोरोना सङ्क्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने धारणा व्यक्त गरे।

मन्त्री खतिवडाले संघीय सरकारले आगामी चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने क्रममा निर्वाचन आयोगलाई निर्वाचन कार्यतालिका तयारी गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै आवश्यक शान्ति, सुरक्षा र बजेट निकासा दिनेतर्फ प्रयास भइसकेको बताए ।

उनले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढंगबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी गराए ।

प्रतिक्रिया