‘चोलेन्द्रशमशेरले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउनुस्’ (भिडियोसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।
सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा सोमबार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरुले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेस गरिने पनि बताए । उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई साता भइसक्दासमेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए ।
अध्यक्ष श्रेष्ठले राज्यको महत्त्वपूर्ण अंगमा आएको समस्याबारे चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । ‘हाम्रो यो साताको कार्यक्रमअन्तर्गत, जो दलहरु अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनुभएको छ, के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्त्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ? हामीले किन राजीनामा मागिरहेका छौँ भन्ने कुरा आज हामी प्रतिनिधिसभामा संसदमा सहभागी भएका राजनीतिक दल र संसदीय दलहरुमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए । उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५/१६ वर्षअघिका मुद्दा नहेरेको दाबीसमेत गरे ।
प्रतिक्रिया