नेता भट्टराई भन्छन्- अदालतकाे समस्या समाधान गर्न राजनीतिक दल अग्रसर हुनुपर्ने बेला आयो

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।
सोमबार नेपाल बार एसाेसिएसनले ज्ञापनपत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पारे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरुले अव ढिलाई गर्न नहुने बताए । उनले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘राज्यका अंग भित्र भएका समस्या आफै हल गरुन भन्ने हाम्रो चाहाना हो,तर, अहिले गठबन्धनको एउटा राजनीतिक संयन्त्र बनेको छ, यो राजनीतिक संयन्त्रले अब चाडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ । यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अव कुनै पनि बहानामा यसलाई संरक्षण गर्नु हुँदैन भन्ने धारणा छ ।’
अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरुले उठाएको विषय स्वभाविक भएको पनि बताए ।
प्रतिक्रिया