बिहीबार, जेठ २, २०८२

ओली भन्छन्- रावलले अध्यक्षमा उम्मेद्‌वारी घोषणा गरेर मप्रति आदर, सम्मान गरे

नेपालखोज २०७८ मंसिर ७ गते १७:२६
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्‌वारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रियासमेत दिएका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले अलि बढी खट्नु हुन्छ, थकाइ लाग्छ, आराम गर्ने होकि भनेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेद्‌वारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि बताए ।

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरुको सुझाव रहेको पनि बताए । उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे । पार्टीको पदाधिकारी वा केन्द्रीय समितिमा आउनेहरुलाई आफूले कुनै दवाव र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीलाई तपाईले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनि प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले सर्वसम्मति वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढि मन पराउने बताए । ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने बरु देश र जनताको व्यवस्थापनमा आफूहरुको ध्यान जाने अध्यक्ष ओलीको भनाइ थियो ।

त्यस्तै, अध्यक्ष ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए । सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको उनको तर्क थियो । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटाला ? भनि सम्पादकहरुसामु नै प्रश्न उठाएका थिए ।

उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले आफूहरुले निष्पक्ष न्यायालय छ, भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारेका छन् । उनले महाधिवेशनमा सार्वजनिक सवारी साधन सीमित भएकाले सोहीअनुसार जनसहभागिता हुने पनि बताए ।

प्रतिक्रिया