आइतबार, जेठ ५, २०८२

कांग्रेस, गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी

नेपालखोज २०७८ मंसिर १५ गते १२:५२

काठमाडाैं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ । आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन् । उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन् ।

२०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको पुगे । यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका छन् । यद्यपी उनी सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै हुन् । उनले विद्यार्थी कालदेखि राजनीति सुरू गरेका थिए भने बौद्धिक नेताका रुपमा परिचित छन् ।

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुन् । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएकका छन् । उनीसँग कांग्रेसका केन्द्रिय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ ।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । कांग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो काँग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।

प्रतिक्रिया