लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बुधवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले आर्थिक पुनर्उथानलाई तीव्रताका साथ अघि बढाउन, मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे । उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए ।
प्रतिक्रिया