प्रचण्डले भने- न्यायलयको अवस्था गम्भीर छ, कार्यपालिकाबाट समस्या हल हुनुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताए ।
उनले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकोले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताए । अध्यक्ष दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्य प्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताए ।
उनले न्यायपालिकाको समस्यालाई राजनीतिक दलहरुले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही बिन्दुबाट सुुरु हुने बताउँदै यो बिन्दुले न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगतिहरुको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढंगले जानेगरी अघि बढ्ने बताए ।
अध्यक्ष दाहालले न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको बिन्दुभन्दा टाढा जान नसक्ने प्रष्ट पारे । उनले न्यायपालिकाको समस्या समाधानको कुरा मात्रै नभइ यो आन्दोलन ठूलो विसंगति अन्त्य हुनेतिर नेपाल जाने बिन्दु हुन सक्ने बताए । अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएका र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए ।
प्रतिक्रिया