राप्रपा अध्यक्षत्रयको प्रतिवद्धता : पार्टीको वृहत्तर हितका लागि त्याग गर्न पनि तयार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन् । अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताए ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकतावद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढने स्पष्ट पारे ।
त्यस्तै, अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताए । उनले अध्यक्षमा आफू विजय हुने भन्दा पनि पार्टीलाई एकतावद्ध बनाउने कुरालाई प्राथमिकता दिएको बताए ।
पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा. लोहनीले बताउए । डा. लोहनीले अध्यक्षमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा यस अघि नै गरिसकेका छन् ।
पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने भन्दै लोहनीले पार्टी फुटलाकि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र संवर्द्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबी समेत गरे ।
प्रतिक्रिया