शाहीद्वारा कर्णाली प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमिति सभापति पदमा युवानेता भुपेन्द्रजङ्ग शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले सुर्खेतमा आज साँझ पत्रकार सम्मेलन गर्दै प्रदेश सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।
कालिकोट निवासी शाही नेपाल तरुण दलका महामन्त्रीसमेत हुन् । पत्रकार सम्मेलनमा उनले आफू पार्टीको प्रदेश सभापति पदमा विजयी भएमा प्रदेशमा पार्टीलाई पहिलो स्थानमा पुर्याउने र युवापङ्क्तिलाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल विद्यार्थी संघ हुँदै तरुण दलको राजनीतिमा क्रियाशील शाही विसं २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार बनेका थिए । त्यसैगरी सो पदका लागि संविधानसभा सदस्यद्वय ललितजंग शाही (जुम्ला), राजीवक्रिम शाह (जाजरकोट) र कालीकोटका पूर्वपार्टी सभापति कालीबहादुर सहकारी चर्चामा छन् ।
कांग्रेसको प्रदेश कार्यसमितिका लागि भोलि (शुक्रबार) उम्मेदवारको मनोनयन दर्ता तथा शनिबार मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ । शुक्रबार बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय छ ।
प्रतिक्रिया