डेढ अर्बमा अस्पतालको स्तरोन्नति

भरतपुर । मेडिकल सिटीका रुपमा परिचत भरतपुरमा सञ्चालित नेसनल सिटी अस्पतालले झन्डै डेढ अर्ब लगानीमा स्तरोन्नति गरेको छ । ५५ शय्याको अस्पतालले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।
अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय सेयरधनी रहेको अस्पतालको संस्थागत सेयरधनी श्री मेडिकल एन्ड टेक्निकल कलेज हो । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदा यसको लगानी एक अर्ब ५० करोड पुग्नेछ । ‘जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुनेछ,’ उनले भने ।
अस्पतालका सञ्चालक एवं श्री मेडिकल एन्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ । -रासस
प्रतिक्रिया