आइतबार, जेठ ५, २०८२

कोरोनाविरुद्धको दुई डोज खोप लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह

नेपालखोज २०७८ मंसिर १९ गते १९:५९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका आईतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोना बिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

उनले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गायँ-गाउँमा गई कोरोना विरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चार माध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे ।

बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न शतर्कता अपनाउनु पर्ने बताए । उनले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा शतर्कता अपनाउनु पर्छ, लकडाउन भन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ ।’

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताए ।

त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सुक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए । उनले यसको पूरा अध्ययन भइ नसकेकोले गर्दा नेपालमा भने विभिन्न १३ नाकाहरुमा शतर्कता अपनाउन आग्रह गरे ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोन विज्ञहरुको कुरा सुन्दा सामान्य लागेपनि संसारभर त्रासको वातावरण रहेको भन्दै शतर्कता अपनाउनु पर्ने बताए । उनले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यस पटक भने पूर्व तयारी गर्न आग्रह गरे । उनले समस्या आउनु अगावै रणनीतिक रुपमा काम गर्न सुझाव दिए । बैठकमा सदस्य खगराज अधिकारीले पोस्ट कोभिडमा नेपालको रिसर्च नपुगेको भन्दै अध्ययनको क्रम बढाउनु पर्ने बताए ।

उनले एन्टीबायोटिकको साइडइफेक्टको बारेमा अध्ययन गरेर मात्रै मन्त्रालय अगाडि बढेमा जनस्वास्थ्यप्रतिको दायित्व पूरा हुने बताए । बैठकमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन र त्यसले जनस्वास्थ्यमा पुर्‍याउने असरबारे छलफल गरिएको थियो ।

बैठकमा उपस्थित सदस्य तथा विज्ञहरुले विश्व स्वास्थ्य संगठनले यस नयाँ प्रकारबारे अध्ययन गरिरहेको र छिमेकी देश भारतमा संक्रमित फेला परिसकेकोले नेपालका सीमानाकाहरुमा स्वास्थ्य सुरक्षा अपनाउन, कोरोना परीक्षण गर्न र खोप लगाएकाहरुको खोप कार्ड देखाएपछि मात्रै आवतजावत गर्न दिन मन्त्रालयलाई आग्रह गरेका थिए ।

विज्ञहरुले नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी नियमित हात धुन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र भीडभाड नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया