सोमबार, जेठ ६, २०८२

राप्रपा : स्थानीय तह निर्वाचन परिचालन समिति गठन

नेपालखोज २०७८ मंसिर २२ गते १८:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ ।

त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ । अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई १५ दिनभित्र ३ महिनाभित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिनाभित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले अह्वान गरेको राप्रपाले जनाएको छ ।

त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ । बैठकमा अध्यक्ष लिङदेनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तीका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया