सोमबार, जेठ ६, २०८२

केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने

नेपालखोज २०७८ मंसिर २३ गते ७:०३
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । कांग्रेसको १४औं महाधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

महाधिवेशन सुरु हुन अब एक दिन मात्रै बाँकी रहँदा सभापतिलगायत पदाधिकारीको अझै टुंगो भने लाग्न सकेको छैन् । आफ्नो पक्षको उम्मेद्वार चयन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको हिजो बैठक बसेको थियो । तर, बैठक ठोस निर्णय बिनै सकियो । देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा सभापतिमा देउवाको विकल्प नभएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए ।

बैठकमा नेताहरुले देउवा समक्ष आआफ्नो दाबी पेस गरेका थिए । उपसभापतिमा विजयकुमार गच्छदारको दाबी पेस गरे । पूर्णबहादुर खड्काले पनि उपसभापतिमा इच्छा देखाएका छन् । त्यस्तै दुई महामन्त्रीमा पाँच जना देउवाका निकट नेताहरुले दाबेदारी प्रस्तुत गरेको बुझिएको छ । भेलामा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउदलगायतले महामन्त्री लड्ने इच्छा राखेका छन् ।

सबै नेताहरुले आफूलाई नै प्यानलबाट आधिकारिक उम्मेद्वार बाउनुपर्ने माग राखेका छन् । बैठकले कसलाई कुन पदमा उठाउने भन्नेबारे ठोस निर्णय नगरेको र फेरि छलफल गर्ने भन्दै हिजो उठेको थियो ।

यता, पौडेल पक्षले पनि सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर उम्मेदवारको टुङ्गो लागेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारको नाम अन्योलमै रहेको हो । पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।

हिजो चाक्सीबारीको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासका लागि आज बिहान ८ बजे अर्को बैठक बसेर निष्कर्ष निकाल्ने जानकारी दिएका छन् । त्यसका लागि पौडेल पक्षको बैठक पनि आज बस्दैछ ।

प्रतिक्रिया