श्री स्वस्थानी कति अनैतिक ?

हिजोआज नेपाली हिन्दुका घर-घरमा श्री स्वस्थानी व्रत कथा पढिँदै छ । श्री स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म वाचन गरिन्छ । यो नेपाली समाजमा श्रुति परम्परामा आधारित लोकप्रिय कथा हो । संस्कृतिविद्हरुको भनाइमा चौधौ विक्रम संवततिर यो कथालाई लिपिबद्ध गरिएको होला भन्ने अनुमान छ । स्कन्द पुराणको केदार खण्डमा झिनो रुपमा स्वस्थानी कथा उल्लेख गरिएको छ । स्वस्थानीलाई देवीका रुपमा माने पनि ती कस्ती देवी हुन् भन्ने कुरा स्वस्थानी पुस्तकमा नै उल्लेख भएको पाइँदैन । यो एउटा मिथक हो ।
यो कथा कसले लेख्यो, लेखक को हो ? भन्ने नै थाहा छैन । अचेल आधुनिक पढेलेखेका नारीवादीहरु स्वस्थानी व्रत कथालाई वाहियात मान्छन् । उनीहरुको भनाइमा यो कथामा महिलाहरुलाई होच्याएको टिप्पणी गर्छन् । कथामा उल्लेखित भगवान् विष्णुजस्तो सर्वशक्तिमानले छल गरेर अरुको श्रीमती वृन्दालाई यौन सम्बन्ध राख्नु र महादेवले छल गरेर बालिका गोमासँग विवाह गरी गर्भिणीसमेत तुल्याइ उनलाई अलपत्र र दु:खमा पार्नु नैतिक लाग्दैन भन्छन् ।
अनि देवहरुको देव महादेवले सतिदेवीको लास लिई पागलप्रेमी भई चारै दिशा भ्रमण गरेको पनि सुहाउँदो कुरा होइन भन्छन् । स्वस्थानी कथामा महिलालाई धेरै प्रसंगहरुमा वस्तुजस्तो व्यवहार गरिएको छ भन्ने पनि उनीहरुको भनाइ रहेको देखिन्छ । स्वस्थानी कथाले पितृ सत्तात्मक संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्दछ भन्ने पनि उनीहरुको तर्क रहेको देखिन्छ ।
अहिलेको जमानामा यस्ता बकम्फुसे परम्परालाई मानेर हिँड्नु बेबकुफी हो । महिलावर्गको अपमान हो भन्ने भनाइ पनि उनीहरुको रहेको पाइन्छ । हाम्रा आमा र हजुरआमाले स्वस्थानीलाई मानेर व्रत बसे तर हामी अब यस्तो मूर्खता गर्दैनौं भन्ने पनि अचेलका कतिपय आधुनिक युवतीहरुले भन्ने गरेको सुनेको र देखेको छु ।
मेरो व्यक्तिगत विचारमा चाहिँ स्वस्थानी कथा विशेषगरी हाम्रो नेपाली मौलिक परम्परा र संस्कृतिको एउटा अंग हो । हाम्रो छिमेकी राष्ट्र भारतमा बहुसंख्यक हिन्दुहरुले सायद हाम्रो जस्तो गरी यो परम्परालाई मान्दैनन् होला । यो कथा हाम्रै देशको सेरोफेरोको लोककथा हो जस्तो मलाई लाग्छ । हाम्रा आमा र हजुरआमाहरुले माने झैं हाम्रा छोरी, बुहारी र नातिनीहरुले कठोर व्रत बसेर वा स्वस्थानी पुस्तकमा वर्णन गरिएजस्तै गर्नुपर्छ भन्ने छैन । समयसापेक्ष यसलाई मान्दा हुन्छ ।
यो धर्म र पुण्यको विषयभन्दा पनि नेपाली हिन्दु जातिको संस्कृतिक पहिचान र भावनाको कुरा हो। यो हाम्रो नेपाली समाजसँग गहिरोसँग जोडिएको छ । यो आस्थाको कुरा हो । त्यो पुरानो कालखण्डको हाम्रो हिन्दु समाजको इतिहास पनि हो । त्यसैले अहिलेको सन्दर्भमा महिला वर्गलाई होच्याएको वा अनैतिक, वाहियात भनेर हेरिनु हुँदैन ।
प्रतिक्रिया