आइतबार, जेठ ५, २०८२

जब नाथुरामले पेस्तोलको घोडा तीनपटक थिचे…

सुनील सापकोटा २०७८ माघ १६ गते १५:०४

इतिहासमा रुचि राख्नेहरु सबैलाई जानकारी भएको विषय होला कि सन् ३० जनवरी १९४८ का दिन मोहनदास करमचन्द गान्धी अर्थात् सबैले चिन्ने महात्मा गान्धीले सहादत प्राप्त गरेका थिए । त्यो दिन भारतकै एक भारतीय नागरिक नथुराम गोडसेद्वारा उनको हत्या भएकाले त्यस दिनलाई भारतलगायत विश्वका विभिन्न देशमा गान्धी सहादत दिवसका रुपमा मनाइँदै आएको पाइन्छ ।

‘महात्मा गान्धीको हत्या हुने उक्त दिन आजभन्दा ७४ वर्षअघि, गान्धी सधैँ झैँ सूर्योदयपूर्व बिउझिए । परमपिता परमेश्वरको प्रार्थनाको तयारीमा लागे । त्यसपछि सदाझैँ भेट्न आउनेहरुसँग भेँटघाट गर्न थाले । लामो अनशनपछि एक-दुई दिनअघि मात्र उनी पूर्ण रुपले स्वस्थ भएका थिए । भेट्न आउने मानिसहरुसँग कुरा गर्दागर्दै त्यो दिन आफ्नो कम्पाउन्डभित्रको प्रार्थनासभामा जान उनलाई हतार भइरहेको थियो । यता उनको प्रतीक्षामा घडी हेरेर बसेका अनुयायीहरु आज ढिलो भएकामा छटपटाइरहेका थिए । यो कुराको महसुस गान्धीजीलाई पनि भयो । भारत सरकारको गृहमन्त्री सरदार बल्लभभाई पटेलसँग प्रार्थनासभामा जान ढिलो भएको कुरा बताएर गान्धी प्रार्थनासभामा जान कोठा बाहिर निस्किए । त्यसपछि उनले प्रार्थना सभामा जान आफ्ना सहयोगी आभा र मनुको साथ काँधमा हात राखेर जाँदै गर्दा प्रतीक्षामा बसेका मानिसहरुको भिडले उनलाई घेरे । त्यस भिडमा गान्धीजीका हत्यारा पनि थिए । त्यहीबेला हत्याराले नमस्कारको मुद्रामा विस्तारै उनको सामुन्नेमा झुके र भने- ‘नमस्कार गान्धीजी ! सँगै रहेकी मनुलाई लाग्यो उनी सायद गान्धीजीको चरण स्पर्श गर्न चाहन्छन् । मनुले नम्रताका साथ हात उठाएर बाटोबाट उसलाई हटाउन खोज्दै भनिन्, ‘भाई, आज अलि अबेला भयो ।’

त्यहिबेला नथुरामले आफ्नो बायाँ हातले मनुलाई जोडले धकेले । उनी लड्खडाउँदै पर पुगिन् । नथुरामको दाहिने हातमा कालो ब्यारेल पेस्तोल चम्कियो । उनले तीनपटक घोडा थिचे । प्रार्थनासभाको मैदानमा तीन धमाका भयो । नथुराम गोड्से विफल भएनन् । मनुले उनको खद्दरको सेतो धोतीमा रगत देखिन् । गान्धीजीले यति मात्र भन्न सके- ‘हे ! राम’ । त्यसपछि उनी निर्जीव भएर मनुको नजिक भुइँमा विस्तारै लडे । चेतनाका अन्तिम क्षणमा उनले आफ्नै हत्यारालाई नमस्कार गरे । त्यो बेला ५ बजेर १७ मिनेट भएको थियो ।

जुन भारतमाथि गान्धीले आफ्नो जीवन न्यौछावर गरेका थिए, त्यसकै एक नागरिकले उनको जीवन लियो । सुलीमा एक अर्का इशा ( क्राइस्ट) चढेको त्यो घटना विश्वको इतिहासमा शुक्रबारकै दिन भयो । यसै शुक्रबारका दिन इशा मसिहलाई पनि १००९ वर्षपहिले मारिएको थियो । उनले मर्ने बेलामा भनेका थिए- ‘हे पिता ! मलाई माफ गर ।’ उपरोक्त कुरा ‘फ्रिडम एट मिड नाइट’ भन्ने अंग्रेजी पुस्तकमा उल्लेख छ ।

गान्धीको हत्या किन ? भन्ने किताबमा उल्लेख भएबमोजिम नाथुराम गोडसेले अदालतमा बयान दिँदा- ‘मेरो जीवनको अन्त्य त्यसै समय भएको थियो जब मैले गान्धीमाथि गोली प्रहार गरें । तसपश्चात मलाई लाग्दछ मानौं म समाधिमा छु र अशक्त जीवन बिताइरहेको छु, म मान्दछु कि गान्धीले देशका लागि ठूलो कष्ट उठाउनुभएको छ । जसका कारण म उहाँप्रति नतमस्तक छु तर देशको त्यो सेवकलाई पनि जनतालाई धोका दिएर मातृभूमिको विभाजन गर्ने अधिकार थिएन भन्ने मलाई लाग्छ । म कुनै प्रकारको दया चाहन्न । यो पनि चाहन्न कि मेरा तर्फबाट पनि कसैले दयाको माग गरिदियोस् । आफ्नो देशप्रति भक्तिभाव राख्नु यदि पाप हो भने म स्वीकार गर्दछु कि मैले उक्त पाप गरेको छु । यदि यो पुण्य हो भने म त्यसबाट प्राप्त पुण्यप्रति मेरो विनम्र अधिकार छ । मेरो विश्वास दृढ छ कि मेरो कार्यनीतिका दृष्टिबाट पूर्णरुपमा उचित छ । मलाई यस कुरामा अलिकति पनि शंका छैन कि भविष्यमा कुनै समय सच्चा इतिहासकारले इतिहास लेख्यो भने तिनीहरुले मेरो कार्यलाई उचित ठहर्याउनेछन् ।’

यदि गान्धीजीको हत्यारा कुनै मुसलमान रहेछ भने त पूरै भारत भयानक रुपमा रक्तपातमा परिणत हुने आशंकालाई दृष्टिगत गरी अल इन्डिया रेडियोका तत्कालीन निर्देशकले एक असाधारण तर विवेकपूर्ण निर्णय लिएका थिए त्यसबेला । उनले त्यतिबेला नहतारीकन गान्धीजीको हत्या गर्ने नथुराम गोडसे हिन्दु मात्र नभई एक ब्राह्‌मण पनि हो भन्ने समाचार सम्प्रेषण गराएका थिए । यो समाचारले सारा भारत स्तब्ध भएको थियो । जवाहरलाल नेहरुले शोक-सन्देशमा भने- The light has gone. वास्तवमा भन्ने हो भने त्यो ज्योति भारतको मात्र नभएर सारा संसारकै थियो । जो त्यस दिन एकाएक गुम्यो । संसारका विभिन्न स्थानबाट हजारौं व्यक्तिको श्रद्धाञ्जली आयो, जसमा विभिन्न देशका राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्रीलगायत संसारका ख्यातिप्राप्त व्यक्तिहरु थिए । नाटककार जर्ज बर्नार्ड शाले आफ्नो अविस्मरणीय शोक सन्देशमा भनेका थिए- ‘गान्धीजीको हत्याबाट थाहा हुन्छ कि असल हुनु कति खतरनाक छ ।’

एकसरो कपडा बेरिएको, हातमा लठ्ठी लिएको, दुब्लो पातलो शारीरिक संरचना भएको सात्विक पुरुषका रुपमा त्यस्ता व्यक्तित्व जो भारतको समानुपातिक बाँडफाँडमा एउटा भारतीयको भागमा एउटा च्यादर र एउटा धोतीभन्दा बढी कपडा पर्दैन भन्ने धारणा बनाई त्यसभन्दा बढी वस्त्र आफूले प्रयोग नगर्ने सिद्धान्तमा अडिग थिए । जसले भारत स्वतन्त्र भएपछि कांग्रेसको साधारण सदस्यतासमेत परित्याग गरेका थिए । जो कुनै पद, प्रतिष्ठा र पैसामा पछि लागेनन्, भारतका अधिकांश केटाकेटीहरु शिक्षाबाट विमुख छन भने म पनि आफ्नो छोराछोरीहरुलाई आम भारतीय केटाकेटीहरु सरह स्कूल नपठाई राख्छु भनी आफ्नो छोराछोरीहरुलाई स्कुलबाट वञ्चित राखे । त्यस्ता महान् पुरुषलाई स्वतन्त्रता संग्राममा लडेका एक स्वतन्त्रता सेनानी भारतीय नथुराम गोडसेले गोली प्रहार गरेका थिए- जो विश्व इतिहासमै आश्चर्यजनक घटना थियो । प्रायः हत्या र हिंसाजस्ता वारदातहरु खासगरी पृथक विचारधारा धर्मानुयायी व्यक्ति र समूहबीच हुन्छ । तर अचम्मको कुरा यहाँ के थियो भने दुवै व्यक्ति (हत्यारा र हत्या हुने व्यक्ति) भारतिय स्वतन्त्रता संग्राम लडेका आर्य समाजका थिए ।

भारत र पाकिस्तानका हिन्दुहरुमाथि मुसलमानहरुद्वारा भएको हिंसा र आक्रमण, विभाजित पाकिस्तानलाई ५५ करोड रुपैयाँ नदिने भारतीय नेताहरुको निर्णयलाई गान्धीजीले अनशन गरेर दबाब दिई उक्त पैसा भारतबाट पाकिस्तानलाई दिलाएका थिए । भारत र पाकिस्तानको विभाजनमा गान्धीजीको स्वीकृति हुनुका साथै गान्धीजीले मुसलमानहरुको आलोचना तथा विरोध नगर्नु आदिका कारण नथुराम गोडसेले त्यसको दोष गान्धीमाथि लगाउँदै यही कारणबाट गान्धीजीको हत्या गर्नुपरेको कुरा अदालतमा बताएका थिए ।

नथुराम गोडसेले हिन्दु अतिवाद र साम्प्रदायिकताको जहररुपी नशामा एउटा यस्तो व्यक्तिको हत्या गर्न पुगे, जो भारतमा मात्र नभई गान्धी संसारकै सन्त पुरुष थिए । उनी अध्यात्मिकतावादी एउटा ईश्वरीय दूत थिए । उनको भारत छोडो आन्दोलनले सत्य र अहिंसाको प्रयोगबाट ब्रिटिस औपनिवेशिक शासनबाट भारतलाई स्वतन्त्रता दिलाएको थियो । भारत स्वतन्त्र भएपछि गान्धीले कुनै पनि राजनीतिक दल र कुनै पनि सरकारी पद धारण गरेनन् ।

बरु, भारतका सम्पूर्ण जनताको सेवाका लागि सावरमतिका किनारमा झुपडीको आश्रम बनाएर जनसेवामा लागे । उनले भारतीय जनताको गरिबी, अज्ञानता र अन्धविश्वाससँग जुझ्न र समृद्धिको मार्गमा हिँड्न ‘ग्राम स्वराज र स्वावलम्बन’ को आन्दोलन चलाए । स्वावलम्बन र स्वदेशी अर्थतन्त्रलाई नै भारतको आर्थिक सिद्धान्त बनाउनुपर्छ अनि मात्र देश विकासको फल सबै जनतामा समान रुपले वितरण हुन्छ भन्ने उनको आर्थिक नीति थियो । उनी ठूला-ठूला उद्योगधन्दाहरुको पक्षमा थिएनन् । घरेलु तथा कुटिर उद्योग र सहकारी खेतीद्वारा मात्र भारतको गरिबी निवारण हुन्छ भन्ने पक्षमा थिए । यसबाटै सबैले रोजगारी पाउने र उत्पादनको वितरणको पहुँच सबैमा पुग्नुका साथै प्राकृतिक पर्यावरण पनि सन्तुलनमा रहन्छ भन्ने मान्यता राख्थे । उनी हरेक भारतीयले ‘सादा जीवन, उच्च विचार’ राख्नुपर्छ भन्ने मान्यतामा अडिग थिए । यसबाहेक उनले आमभारतीयहरुको नैतिक मूल्य-मान्यता र अनुशासनमा पनि ठूलो जोड दिएर सो कुराहरु पालना गराउनेतर्फ क्रियाशील थिए ।

अन्त्यमा गान्धीजीको बारेमा जति लेख्दा पनि कमै हुन्छ । गान्धी दर्शन र गान्धीवादले राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मानवीय र आध्यात्मिक विचारहरु प्रवाह गरेको पाइन्छ । त्यसलाई एउटा सानो लेखबाट प्रस्ट्याउन सकिँदैन । हाम्रो देशको सहिद दिवस तथा छिमेकी मुलुक भारतको गान्धी सहादत दिवसको यस पुनित अवसरमा हाम्रा देशका ज्ञात अज्ञात सहिदहरु तथा महात्मा गान्धीप्रति हार्दिक श्रद्धाञ्जली ।
-सापकोटा महात्मा गान्धी स्मृति प्रतिष्ठान नेपालसँग आबद्ध छन् ।

प्रतिक्रिया