बुधबार, जेठ १, २०८२

बेहुला-बेहुली बोकेको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

नेपालखोज २०७८ माघ २२ गते १५:३७

दाङ । प्युठानको ओखरपाटामा भएको बेहुलाबेहुली बोकेको जीप दुर्घटनामा मृत्यु हुने एक बालिकासहित पाँच महिला र तीन पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना पनि छन् ।

उक्त दुर्घटनामा गौमुखी गाउँपालिका–६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ ।

जीप दुर्घटनामा गौमुखी गाउँपालिकाकै २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का र नौबहिनी– ६ लुङकी १८ वर्षीया विपना जीसीको पनि मृत्यु भएको छ ।

बेहुला दानबहादुर खड्का, बेहुली रीमा जीसी घाइते भएका छन् । यस्तै स्थानीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् ।

दुर्घटनामा बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनाको बुटवलस्थित अस्पतालमा उपचार भईरहेको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेहुली लिएर फर्किँदै गरेको जीप शनिबार बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटास्थित सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो ।

प्रतिक्रिया