बुधबार, जेठ १, २०८२

२८ थान सवारी साधन फेला पारी सम्बन्धित धनीलाई

नेपालखोज २०७८ माघ २७ गते २०:०६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरे ।

व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट हराएको भनी महाशाखामा परेको निबेदन पश्चात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकल फेलाह पारेको एसएसपी जोशीले जानकारी दिए । एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर दिँदै आएको र स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए ।

उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे । महाशाखामा आर्थिक वर्षमा आठ सय ३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये तीन सय नौ वटा मोटरसाईकल फेला पारेको छ । दुई सय ४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान एव कारबाहीको लागि बिभिन्न प्रहरी वृत्तमा पठाएको समेत महशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाको सुचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाईकल उपत्यका बाहिरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिई सम्बन्धित धनीले प्राप्त गरेको समेत महाशाखाले जानकारी दिए ।

प्रतिक्रिया