बिहीबार, जेठ २, २०८२

नेविसंघले गरेकाे तालाबन्दीको विरोध प्रदर्शनमा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक

नेपालखोज २०७८ फागुन ५ गते १७:०८

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभूवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरे ।

प्राध्यापकहरुले तालाबन्दी समाधान होइन समस्या हो, विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिए । प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् ।

प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।

प्रतिक्रिया