बुधबार, जेठ १, २०८२

नक्कली लालपुर्जामार्फत एक करोड पाँच लाख रुपैयाँ ठग्ने पक्राउ

नेपालखोज २०७८ फागुन १३ गते १५:३४

काठमाडौं । नक्कली लालपुर्जामार्फत एक करोड पाँच लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार ठगी कार्यमा संलग्न हस्त बहादुर ठाडा मगर बैंकिङ कसुरका फरार प्रतिवादी रहेको आधारमा बुधबार काठमाडौको बौद्धबाट पक्राउ गरिएको हो ।

प्रवक्ता मैनालीका अनुसार मकवानपुर हेटौडा उप–महानगरपालीका वडा नं. २ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३१ बानेश्वकर बस्ने बर्ष ३७ बर्षिय मगरले बाराको निजगढस्थित बस्तिमा आफ्नो जग्गा भएकोले मिलाएर दिन्छु भनी विश्वासमा पारी जग्गा देखाई जग्गा मूल्य तीन करोड रुपैयाँ कायम गरी बैना स्वरुप एक करोड पाँच लाख रुपैयाँ लिएका थिए । उनले यो रकम बिसं २०७६ साल असोज छ गते लिएको देखिएको प्रवक्ता मैनालीको भनाई छ ।

साथै बाँकी रकम लिई जग्गा पास गरी दिनु भन्दा मगरले बिभिन्न बहाना बनाई आलटाल गर्दे आएका थिए । पछि अनलाइनमार्फत उक्त जग्गाको अवस्था बुझ्ने क्रममा मगरले बैना गराएको जग्गाको लालपुर्जा नक्कली रहेको र वडा कार्यालयमा तिरो तिरेको रसिद समेत नक्कली रहेको भन्ने कुरा खुल्न आएको प्रवक्ता मैनालीको भनाई छ । पछि बैना गरेको रकम फिर्ता माग्दा बिसं २०७७ साउन पाँच गते मगरले एक करोड पाँच लाखको चेक दिएकोमा सो चेक सटहीको लागि बैकमा पेश गर्दा बैकले उक्त खातामा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको थियो ।

सो पश्चात पीडितले बैंकिङ कसूर मुद्धामा प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त बिसं २०७७ फागुन १३ गते मुद्दा दर्ता भएको र मुद्धाको दर्ता नं.४९८ भएकोमा अनुसन्धान पश्चात बिशेष सरकारी वकील कार्यालयद्वारा उच्च अदालत पाटनमा पेश भई अदालतको फैसला अनुसार तिर्नु पर्ने रकम नतिरी फरार फरार भएका थिए । सोही आधारमा २०७८ फागुन ११ गते बुधबार महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले फरार रहेका मगरलाई पक्राउ गरी पाटन उच्च अदालतमा पेश गरेको प्रवक्ता मैनालीको भनाई छ ।

प्रतिक्रिया