बुधबार, जेठ १, २०८२

भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपालखोज २०७८ फागुन २६ गते १५:२९

काठमाडौं । भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । काठमाडौं महानगरीय प्रहरी परिसर अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो ।

अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौं भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही ५० हजार रुपैयाँ लाग्ने भनी फारम भर्न लगाई ठगी गरेकाे पाइएको प्रहरीले जानकारी दिएको छ ।
ठगी गर्ने कार्यमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा वस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारी संलग्न रहेको पाइएको छ ।

उनीहरुबाट ल्यापटप, प्रिन्टर, (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएको रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा आदालतको आदेशले दुवै जना पुर्वपक्षका लागि कारागार चलान भएको परिसरले जनाएको छ । –रासस

प्रतिक्रिया