सोमबार, वैशाख २९, २०८२

दमक गोल्डकपको तयारी पूरा, बुधबारदेखि खेल सुरु

नेपालखोज २०७८ चैत ८ गते १५:२५

काठमाडौं । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार देखि सुरु हुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, आयोजक दमक–११, बागमती युथ क्लवका साथै भारत स्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको माने भञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरुनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार देखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ। उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब बीच खेल हुनेछ।

खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदानमा पाँच हजार देखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार रुपैयाँ र उपविजेताले छ लाख ११हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चौलागाईले जानकारी दिए । यसै गरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २१ हजार रुपैयाँ दिइने जनाइएको छ ।

प्रतिक्रिया