सोमबार, वैशाख २९, २०८२

आईसीसी विश्वकप : पीएनजीमाथि नेपालको दोस्रो जित

नेपालखोज २०७८ चैत ८ गते १९:५६

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा आज ७ विकेटको जित निकाल्दा नेपालले सान्तोवना जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दा नेपाल सात विकेटले विजयी भएको हो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । ५० रन बनाएका कुशलले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ५९ रनमा अविजित रहेका आरिफले एक सय दुई बलमा चार चौका प्रहार गरे । यसबाहेक, नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख दुई रनमा र दीपेन्द्रसिंह ऐरी सुन्यमै पभेलियन फर्किए ।

बलिङ तर्फ पिएनजीका चाल्र्स एमिनीले दुई विकेट लिँदा एलेइ नाओको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार गरेको थियो । पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै, चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । यसबाहेक, पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले एक एक विकेट लिए । डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पिएनजीले १६ खेलबाट दुई अंकमात्र जोडेको छ ।

प्रतिक्रिया