बालबालिकाको अपांगता पहिचान कसरी गर्ने ?

शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक कारणले कुनै बालबालिकाले आफ्नो नियमित क्रियाकलाप गर्न असक्षम हुन सक्छन् । तर समयमै उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन् ।
अपाङ्गताका केही कारण :
• जन्मजात असामान्यता
• आमाबावुबाट शिशुमा रोग सर्नु
• गर्भावस्थामा समस्या हुनु
• प्रशवका बेला समस्या र जटिलता आउनु
• जबर्जस्ती प्रसूती गराउनु
• दुर्घटना भएमा
• रोग लागेमा : जस्तै, पोलियो, अति ज्वरो, मस्तिष्क ज्वरो, आदि
• गम्भीर कुपोषण
अपाङ्गताको पहिचान कसरी गर्ने ?
सामान्य रुपमा निम्न सङ्केतबाट अपाङ्गताको पहिचान गर्न सकिन्छ ।
• आफ्ना शिशुको हरेक क्रियाकलाप ध्यान पूर्वक अवलोकन गर्ने ।
• स्पर्श, आवाज, अन्य व्यक्ति, आँखाको सम्पर्क र खेलौनाहरूप्रति शिशुले प्रतिक्रिया गर्छ, गर्दैन ध्यान दिने ।
• शिशुका आँखा वरिपरि रङ्गीन वस्तुहरू हल्लाउँदा हेर्छ, हेर्दैन परीक्षण गर्ने, ।
• शिशुलाई पछाडिबाट बोलाउने वा घण्टी बजाउँदा आवाजतिर फर्कन्छ, फर्कदैँन हेर्ने ।
• उमेरअनुसार बस्ने, घस्रिने, हिंड्ने र टाउको सन्तुलन गर्ने क्रियाकलाप गर्न सक्छ, सक्दैन हेर्ने ।
• उमेर अनुसार स्पष्टसँग कुराकानी (संचार) गर्न सक्छ, सक्दैन हेर्ने,
• अनुभव गरेका, सिकेका कुरा सम्झेर बताउन सक्छ, सक्दैन ध्यान दिने ।
• दैनिक दिनचर्याका परिवर्तनलाई स्वीकार गर्न गाह्रो मान्छ मान्दैन, ध्यान दिने ।
• अरुसँग घुलमिल हुन र साथी बनाउन गाह्रो मान्छ मान्दैन हेर्ने ।
अपाङ्गताको रोकथाम
• आमा तथा बालबालिका प्रतिरक्षित खोप लगाउने ।
• पौष्टिक खाना खाने र गर्भावस्थामा स्वस्थ रहने ।
• गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ नखाने ।
• डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्ने ।
• गर्भावस्थामा छँदा एक्स रे नगराउने ।
• सरुवा रोग हुनबाट सावधान भई बच्ने ।
• गर्भावस्थामा छँदा र सुत्केरी भएपछि सम्भाव्य दुर्घटनाहरूबाट जोगाउने ।
• स्वास्थ्य संस्थामा दक्ष स्वास्थकर्मीको सहयोगमा प्रसुति गराउने ।
अपाङ्गता भएका बालबालिकालाई हौसला
अपाङ्गता भएका बालबालिका र अपाङ्गता नभएका बालबालिकामा उस्तै भावना र आवश्यकता हुने हुँदा समान व्यवहार गर्नुपर्छ । वृद्धि विकास हुने अवसर र वातावरण दिएर हुर्काउनुपर्छ । बालबालिकालाई आमाबाबु र परिवारहरूबाट टाढा राखिनुहुन्न । उनीहरूका शारीरिक एवं मानसिक भाषा र सिकाइसम्बन्धी चुनौती भएपनि उनीहरूका माया र हेरचाहको अधिकार हुन्छ ।
उनीहरूको सबल पक्ष पहिचान गरी हौसला र उत्प्रेरणा गरेर आत्मविश्वास बढाउनुका साथै क्षमता विकास गर्ने व्यवस्था गर्नुपर्छ । शिशु बालबालिकाको अपाङ्गताको अवस्था र विकासात्मक चरण अनुसार उत्प्रेरणा प्रदान गर्नुपर्छ । कहिले पनि बालबालिकालाई दुर्व्यवहार, हिंसा र अवहेलना गर्नु हुदैन ।
अपाङ्गता भएका बालबालिकाका लागि उचित शिक्षा र अवसर सुनिश्चित गर्नुपर्छ । अभिभावकका लागि पनि नेपाल सरकार तथा विभिन्न संघसंस्थाबाट तालिमको पनि व्यवस्था पनि हुने हुँदा त्यस्ता विशेष तालिमले सहयोग पुर्याउँछ ।
शिशु बालबालिकाको अपाङ्गताको अवस्था अनुसार सम्बन्धित वडा कार्यालय, नगरपालिका, गाउँपालिकाको महिला बालबालिका शाखामा सम्पर्क गरी परिचय पत्र तथा सेवा लिनुपर्छ ।
–युनिसेफ नेपाल
प्रतिक्रिया