बढी हल्ला हुने सहरमा काठमाडौं छैटौं

काठमाडौं । ध्वनि प्रदूषणमा संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको रिपोर्टअनुसार संसारमा सबैभन्दा बढी हल्ला हुने सहरको शीर्ष स्थानमा तीनवटा दक्षिण एसियाली सहर छन् भने टपटेनमा नेपालको काठमाडौंसमेत छ ।
संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमका तर्फबाट जारी वार्षिक फ्रन्टियर रिपोर्ट-२०२२ अनुसार ध्वनि प्रदूषणका मामिलामा बंगलादेशको राजधानी ढाका (११९ डेसिबल) पहिलो नम्बरमा छ । उत्तर प्रदेश, भारतको मुरादाबाद ११४ डसिबलका साथ दोस्रो ध्वनि प्रदूषित सहर हो भने पाकिस्तानको राजधानी इस्लामाबाद १०५ डेसिबलका साथ तेस्रो स्थानमा छ ।
संसारका ६१ वटा सहरको ध्वनि प्रदूषणको अवस्था यो रिपोर्टमा उल्लेख छ । जसअनुसार बंगलादेशको राजशाही १०३ (डेसिबल), भियतनामको हो ची मिन्ह सिटी १०३ (डेसिबल), नाइजिरियाको इबादान १०१ (डीबी), नेपालको काठमाडौं १०० (डेसिबल), अल्जेरियाको अल्जियर्स १०० (डेसिबल) का साथ यो सूचीको चौथोदेखि छैटौं स्थानमा छन् ।
भारतका पाँच सहर यो सूचीमा छन्- कोलकाता ८९ (डेसिबल), आसनसोल ८९ (डेसिबल), जयपुर ८४ (डेसिबल) तथा दिल्ली ८३ (डेसिबल) ।
सबैभन्दा शान्त सहर
जोर्डनको इरबिद सहरलाइ सबैभन्दा शान्त सहर मानिएको छ भने त्यस पछि फ्रान्सको लियोन तथा स्पेनको म्याड्रिडको स्थान छ ।
ध्वनि प्रदूषण एउटा समस्या
ध्वनि प्रदूषण केवल मानिसहरुको मात्र समस्या होइन । जानवरहरुमा पनि होहल्लाको गहिरो नकारात्मक असर पर्छ । उद्योग, यातायात तथा निर्माणबाट सबैभन्दा बढी ध्वनि प्रदूषण हुन्छ र यो बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बढी हानिकारक मानिन्छ ।
प्रतिक्रिया