लिग च्याम्पियन मच्छिन्द्र एएफसी कपमा पहिलो खेलबाट नै बाहिरियो

काठमाडाैं । पहिलो पटक एएफसी कप छनोट खेलेको लिग च्याम्पियन मच्छिन्द्र क्लव पहिलो खेलबाट नै बाहिरिएको छ । मच्छिन्द्र घरेलु मैदानमा श्रीलंकन टिम ब्लु स्टार स्पोर्टिङ क्लबसँग दुई एकले पराजित भयो ।
पहिलो हाफमा तीन मिनेटमा दुई गोल खाँदा मच्छिन्द्र अन्तिममा पहिलो खेलबाट बाहिरियो । ए डिभिजन लिगको सातौं चरणसम्म शिर्ष स्थानमा रहेर एएफसी कप छनोटमा स्थान बनाएको मच्छिन्द्रको पहिलो पटकको एएफसी प्रतियोगिता पहिलो खेलमा नै टुंगिएको छ ।
घरेलु दर्शकमाझ मच्छिन्द्र पहिलो हाफमा निकै निरिह रह्यो । दशरथ रंगशालामा भएको खेलको १५ औं मिनेटमा ब्लु स्टारले पेनाल्टी पाएको थियो । मच्छिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले डिब्समा फल गरेपनि पाएको पेनाल्टीमा जेरीको प्रहारलाई गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
२४ औं मिनेटमा ब्लु स्टारले खेलमा अग्रता बनाययो । उसका लागि काइ योङले गोल गर्न सफल भए । मच्छिन्द्रको डिफेन्सको फाइदा उठाउँदै काईले गोल गर्न सफल भए । खेलको २८ औं मिनेटमा ब्लु स्टारले खेलमा दुई शुन्यको अग्रता बनायो । मच्छिन्द्रका डिफेन्डर रञ्जित धिमालको गल्तिको फाइदा उठाँउदै सेनलले गोल गर्न सफल भए ।
खेलको ३१ औं मिनेटमा बिमल घर्तिमगरको प्रहार ब्लुस्टारका खेलाडीमा ठोकिएर फर्किदा त्यसपछि सुजल श्रेष्ठले गरेको प्रहार ब्लु स्टारका गोलकिपरले बचाए । ३५ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा पाएको बलमा नुर्लानले राम्रो अवसर खेर फाले ।
पहिलो हाफको अन्तिममा मच्छिन्द्रका डिफेन्डर रञ्जित धिमालको लामो प्रहार फ्रेममा रहन सकेन । पहिलो हाफमा दुई गोलले पछि परेको मच्छिन्द्रले ६७ औं मिनेटमा दुई पटकका अवसर खेर फाल्यो । अभिशेख रिजालको क्रसमा बिमल घर्तिमगरको हेडर पोलमा लागेर फर्कियो भने रिबाउण्डमा छिरिङ गुरुङको प्रहार ब्लु स्टारका गोलकिपरले बचाए ।
७६ औं मिनेटमा मच्छिन्द्रले अर्को उत्कृष्ट मौका खेर फाल्यो । रञ्जित घिमालको क्रसमा उसका कप्तान सुजल श्रेष्ठले डिबक्समा गरेको हेडर पोष्ट बाहिर रह्यो । ७९ औं मिनेटमा रञ्जित घिमालको क्रसमा अभिशेख रिजालले हेडर प्रयास गर्नु अगाडी नै ब्लु स्टारका डिफेन्डरले क्लियर गरे ।
खेलको अन्तिममा रेजिन सुब्बाले प्रहार गरेको बलपछि पोष्टको नजिकैबाट बाहिरीयो । जसका कारण उसले अन्तर कम गर्ने मौका गुमायो । खेलको इन्जुरी समयमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले गोल गर्दै अन्तर कम गरेपछि मच्छिन्द्र हारबाट भने बच्न सकेन ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेनन् र मच्छिन्द्र पहिलो खेलबाट बाहिरीयो । अब ब्लु स्टारले दोस्रो चरणको खेलमा भारतीय क्लव मोहन बगानसँग खेल्नेछ ।
प्रतिक्रिया