बिहीबार, जेठ २, २०८२

धरान फुस्रेको जनता पुस्तकालय !

सुनील उलक २०७८ चैत २६ गते ११:२९

केही दिन अगाडि नेवा: सम्मेलनमा सहभागी हुन धरान पुगेको थिएँ । धरान कुनै बेला लाहुरेको सहरका रुपमा निकै प्रख्यात थियो । जसले गर्दा धरान सम्पन्न र फेसनेबल सहरको रुपमा चिनिन्थ्यो । तर अचेल धरान लाहुरेको सहर जस्तै प्रतित हुदैन, बदलिसकेको छ । झट्ट हेर्दा अब्यबस्थित देखिन्छ । सहरको बिचमा रहेको भानु चोक झन अब्यबस्थित देखिन्छ । सडक छेउमै लहरै जथाभावी पार्किङ गरिएको देखिन्छ । सडक किनारमा पनि बेरोकटोक सडकव्यापार गर्न छुट छ । धरानको बिचबाटै धनकुटा जाने राजमार्ग पनि तेर्सिएको छ । धरान धनकुटा राजमार्गलाई सहरको कुनै छेउमा लाने व्यवस्था गरिनुपर्ने हो त्यो पनि भएको देखिदैन । जसले गर्दा खास बजारमा पैदल यात्रीलाई अझ बढी सकस देखिन्छ ।

१९५० को दशकमा जङ्गलै जङ्गलले भरिएको यस स्थानमा रुख कटानी गरि सहर ब्यबस्थापनका कुरा निस्कियो । बिसं १९५९ मा चन्द्रशम्शेरको समयमा स्थापित पहिलो बजार चन्द्रनगर थियो । यसलाई हाल पुरानो बजार भनेर चिनिन्छ । १९९० मा भूकम्पले तहसनहस बनाउँदा जुद्धशम्शेरले फेरी बजार ब्यबस्थापन गराए । जसलाई जुद्दनगर भनेर भनियो । अहिले यसलाई नयाँबजार भनेर चिनिन्छ ।

No description available.

धरानका पनि कतिपय ब्यथाकथाहरु होलान् । राज्यबाट टाढिनुको बितृष्णा होलान् । बिकासे योजनाहरु पर्याप्त नआउनुको पिडा होलान् । तर म धरानको पुरानो बजार फुस्रेलाई एकैछिन नियाल्न चाहन्छु ।

धरानको अहिलेको बजार चम्कनु अगाडि धनकुटाको सडक बन्नु अगाडि भने फुस्रेव्यापारिक केन्द्रबिन्दु जस्तै थियो । सर्दु खोलाको किनारमा राणाकालमा ठूला गोदाम घर बनाएर त्यहाँबाट पहाडी मुकामहरुमा सामग्रीहरु पठाउने गरिन्थ्यो । बिस्तारै यहाँ सर्दुलेखादी बनाएर बिक्री गर्न थाले पछि फुस्रे बजार अझव्यापारिक केन्द्र बन्दै गयो । यहाँ ढाकर बोकेर पहाडबाट नुन, तेल, मरमसला तथा मट्टितेल लिन आउँथे भने यहाँ पहाडबाट घ्यू, तेल, चिराइतो बिभिन्न जडिबुटीहरु बिक्री गर्न लिएर आउँथे । उत्तरी भेगका धनकुटा, भोजपुर, चैनपुर, इलाम, फिदिम, ताप्लेजुङ, पाँचथर, संखुवासभा लगायतका जिल्लाबाट सामान खरिद गर्न फुुस्रे बजार आउने गर्दथे ।

पछिल्लो समय यहाँको मुख्यव्यापारीको रुपमा रामसाहु थिए । सर्दु खोलामा पानी घट्ट पनि राखेका थिए । यसरीव्यापारिक केन्द्र रहेको फुस्रे भने अचेल सुनसान भएको छ । २०३५ सालतिर बन्न थालेको धनकुटाको सडक २०३८ तिर सम्पन्न भएको थियो । यो सडकसंगै फुस्रेको चहलपहल पनि समाप्त भएको थियो । बेलायती सरकारले लाहुरे भर्ति हुन आउने पूर्वी पहाडका युवाहरुलाई सहज होस भनेर नै यो सडक बनाइदिएका थिए ।

No description available.

फुस्रे बजारमा कुनै बेला स्थापित जनता पुस्तकालय खोज्दै म फुस्रे पुगेको थिए । पहिले हिडेर धनकुटा जाँदा फुस्रेको बाटो जानुपर्दथ्यो तर अहिले मूल सडकले भने यो ठाउँलाई छुदैन । जिरो प्वाइन्टबाट अलिग्गिन्छ धनकुटाको सडकको बाटो । अमर पथको नामले चिनिने फुस्रेको सडक अहिले बिपी पार्क तथा ओशो पार्कका कारणले पनि केही आकर्षण बाँचेको छ । कोशी ब्यारेज बनाउने बेलामा हाल बिपी पार्क भएकै स्थानबाट घिर्लिङ (रोपवे) राखिएको थियो । यहाँको घिर्लिङ घोपामा रहेको रेलवे चोक सम्म जोडिन्थ्यो । रेलवे चोकबाट विहारको वीरपुरसम्म रेल जोडिएको थियो । फुस्रेको डाँडा काटेर घिर्लिङबाट ढुङ्गा ओसारिन्थ्यो । जुन भिमनगर कोशी ब्यारेजसम्म लगिन्थ्यो । त्यहाँबाट वीरपुरसम्म भने अन्य सामग्री ओसार्नको लागि रेलको उपयोग गरिन्थ्यो । यो सबै अब एकादेशको कथा भइसकेको छ ।

जनता पुस्तकालय फुस्रेका केही जुझारु युवाहरुको सक्रियतामा खोलिएको पुस्तकालय थियो । स्वर्गिय कृष्णभगत श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, फुस्रेकै मदनकृष्ण श्रेष्ठहरुको सक्रियतामा २०१७ सालमा फुस्रेमा जनता पुस्तकालय खुलेको थियो । भारतीय पेन्सन अफिसको सक्रियतामा नेपाल भारत सांस्कृतिक केन्द्रबाट प्राप्त भारतीय पुस्तक तथा रुसी सांस्कृतिक केन्द्रको सहयोगमा प्राप्त रसियन भाषाका कितावहरु संग्रह गरिएका थिए । त्यो बेला किताव पढ्ने धेरैको रहर र बानी हुन्थ्यो । तर अचेल किताव पढ्ने निकै कम भेटिन्छन् । समसामयिक समाचारका लागि पत्रपत्रिका पढ्ने भने भेटिन्छन् ।

No description available.

२०१७ सालमा पुस्तकालय स्थापना हुँदा डेराको घर थियो । अहिले रहेको स्थान भन्दा अन्दाजी २०० मीटर दक्षिण तर्फ फुस्रेकै सडक छेउ । त्यसपछि नगरपालिकाको सहयोगमा हालको फुस्रे चोकमा जग्गा प्राप्त भए पछि स्थानियको दौडधुपले एकतले भवन बनाएर आफ्नै भवनमा पुस्तकालय सर्यो । त्यो भवन पनि २०४५ सालको भूकम्पले भत्काइदिँदा अहिले पुस्तकालयको अवस्था दयनिय देखिन्छ । कितावहरु पनि धेरै पुराना रुचीका कम हुनु र ब्यबस्थित नहुनुले आफूले चाहेको किताव भेट्न नै मुश्किल लाग्दछ ।

अहिले पुस्तकालयमा कर्मचारीका रुपमा स्वर्गीय कृष्णभगत श्रेष्ठका छोरी मीनाले हेर्ने गर्दोरहेछन् । पुस्तकालयलाई राम्रो व्यवस्थापन गर्न सके इतिहास जोगिने थियो ।

प्रतिक्रिया