नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२-२८ सम्म गण्डकीमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठको तेस्रो सातामा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
हरेक दुई दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता कोरोनाकारण हुन सकेको थिएन । यसबीचमा गत फागुनमै प्रतियोगिता आयोजना गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद् राखप नेतृत्वविहीन बन्दा त्यतिबेला पनि सम्भव भएको थिएन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा प्रतियोगिता आयोजना हुने छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तत्कालिन प्रदेश नम्बर ५ (हाल लुम्बिनी) प्रदेशमा आयोजना भएको थियो । त्यतिबेला नै गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना गर्ने झण्डा हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको जिम्मेवारी पाएको गण्डकी प्रदेशले यसअघि तयारी भने अघि बढाएको थियो ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेपनि त्यतिबेला रोकिएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ । पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना छ ।
यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिलारपुरुष) बाग्लुङ, कराँते (महिलारपुरुष) लमजुङ, टेवलटेनिस (महिला र पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिलारपुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिलारपुरुष) गोर्खामा खेलाउने योजना छ ।
यसैगरी बास्केटबल (महिलारपुरुष) तनहुँ, बुद्धिचाल ९महिलारपुरुष० मनाङ, आइटिएफ तेक्वान्दो ९महिलार पुरुष० म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिलारपुरुष) स्याङ्जा र फेन्सिङ (महिलारपुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको बुझिएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ ।
राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन् । सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ ।
प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया