शुक्रबार, जेठ ३, २०८२

धार्मिक महत्त्व तथा ऐतिहासिक पृष्ठभूमि

नेपालखोज २०७९ वैशाख ६ गते ८:०३

विश्वभरका बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हो । मायादेवी र भगवान् बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरुसमेतका लागि लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्त्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वले लुम्बिनीको तीर्थाटन गरेका तथ्यहरु उजागर गर्छन् ।

प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले ‘हिंद बुधे जाते शाक्यमुनीति’ (यहाँ शाक्यमुनि बुद्ध जन्मनुभएको थियो) भन्ने शिलालेखसहितको ढुंगाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक पिल्लरका रूपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मिएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उनलाई शुद्धीकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदहजस्ता ऐतिहासिक ठाउँहरूको भ्रमणसमेत गरे ।

प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरूमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरूमा हुयेन साड्डको यात्रा विवरणहरूले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा ‘ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु’ भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्गशमशेर र अंग्रेज भारतका पुरातात्त्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरि चासो र सरोकारको विषय बन्यो ।

सन् १९९९ मा पीसी मुखर्जीले भगवान् बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशरशमशेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्त्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्रसंघका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ-संस्थाहरूको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्त्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र संवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

सन् १९७० मा भवन तथा भौतिक योजना विभागअन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्त्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रूपमा विकसित हुँदै गइरहेको छ ।

प्रतिक्रिया