शुक्रबार, जेठ ३, २०८२

एसईईमा संस्कृतबाट ९ विद्यार्थी सहभागी हुँदै

नेपालखोज २०७९ वैशाख ६ गते १६:५०

काठमाडौं । वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसईईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले जानकारी दिएका छन् । विद्यालयमा संस्कृत बिषयमा समेत अध्यापन हुँदै आएको छ ।

परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने भएका छन् । कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ जना र छात्रा एक हजार १५०जना छन् । परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने कार्यालयले जनाएको छ । परीक्षामा ग्रेड वृद्धिका लागि आठ जना सहभागी हुन लागेका छन् ।

जिल्लामा एसईई परीक्षा सञ्चालनको लागि नौ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राअध्यक्ष नियुक्त गरी उनीहरुलाई अभिमूखिकरणसमेत गरी सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राअध्यक्ष तोकिएको छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिंगा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ ।

सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परीक्षा समितिसँगै स्थानीय तहसमेतलाई सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । रासस

प्रतिक्रिया