मंगलबार, वैशाख १८, २०८१

वीरशमशेरको बेलायत यात्राको सपना

सुनील उलक २०७९ वैशाख ११ गते १३:०६

नेपालको प्रधानमन्त्री तथा श्री ३ को रुपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवर तथा जङ्गबहादुरका सन्तानहरुको हत्या गरि धीरशमशेरका छोराहरुले एकछत्र रुपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए । २०४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा नातिहरु या त मारिए या लखेटिए । यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशमशेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरे पछि वीरशमशेरले अंग्रेजका बिभिन्न शर्तहरु मान्न तैयार भएका थिए । भारतीय सेनामा रहेको गोर्खालीहरुको संख्या बढाउन समेत मञ्जुरी दिएका थिए । भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेन । यता रेसिडेन्टका रुपमा रहेका गर्ल्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधीहरुले बिभिन्न माग श्री ३ वीर सामु राख्न थाले । बेलायती सेनामा गोर्खालीहरुको भर्ति केन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरुलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिन समेत मागेका थिए । वीरशमशेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न केही अंग्रेजका चाहना पुरा गरिदिएका थिए ।

No description available.

यसरी सरकारलाई मान्यता पाएको वीर शमशेरको सम्बन्ध लर्ड डफरिनसंग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरु लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढि पुरा भयो । वीरशमशेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुदै घोडामा चढेर काठमाडौ पुगेका थिए । धुमधामका साथ स्वागत गर्न लाखौ रुपैयाँका पटाकाहरु पड्काईएको थियो । काठमाडौमा उनको लागि १८००० सैनिकहरुबाट मार्चपास्ट तथा सलामी दिइएको थियो । त्यसबेला नेपाली सेनाका प्रमुख देवशमशेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यबस्था समेत मिलाईदिएका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीर शमशेर इ.सं. १८९३ फेब्रुवरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशमशेरले बेलायतसंग ८००० मार्टिनी हेनरी राइफलको अर्डर दिएका थिए । भने मनग्गे गोलाबारुदको पनि अर्डर दिएका थिए ।

यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशमशेर बेलायत घुम्ने सपना देख्न थाले । ठूलो बुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशमशेरलाई पनि बेलायत जाने रहर जाग्यो । सन १८९५ को अन्त तिर काठमाडौमा रहेको रेसिडेन्ट मार्फत अनुरोध पत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा पनि श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्र भित्र चिन्तित थिए – कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसंगको सम्बन्ध बिग्रन सक्ने आकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।

वीरशमशेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो । नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीर बिक्रमको राजदूतको रुपमा बेलायत भ्रमण गर्ने वीरशमशेरको चाह थियो । तर त्यसबेला बेलायत नेपाललाई पूर्णरुपमा स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिने पक्षमा थियो । यो थाहा पाएका वीरशमशेरले बेलायत भ्रमण त्याग्न सक्ने तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए । भाइसरायको प्रयास वावजुद पनि वीरशमशेरको यात्रा हुन सकेन । जसक‍ो कारण तिब्बतसंगको सम्बन्धका कारण वीरले नेपाल छोड्न नचाहेको प्रचार गरियो ।

वीरशमशेर जन्मदेखि नै अभागी थिए । उनको जुन समय जन्म भयो त्यो दिन राशिमा अशुभ दिन चलिराखेको थियो । उनको जन्मको केही समयपछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषको सल्लाह अनुसार घर राखिएन । १२ वर्षको उमेरसम्मका लागि ठूलो बुबा जङ्गबहादुरको थापाथली दरवारमा राखियो जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोरा झै आफ्ना छोराहरुका साथ हुर्काए । थापाथली दरवारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई “कैले” भनेर बोलाउँथे । जङ्गले नै उनको नाम “वीर” भनेर राखिदिएका थिए । उनका दौतरीहरुमा जङ्गका सन्तान बबरजंग, दीपकुमारी तथा खड्गकुमारीहरु थिए । तर बिदम्बना यिनै वीरशमशेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरुलाई नै मार्न लगाए ।

No description available.

ठूलो बुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरवार हाइस्कूल र पछि डोवटन कलेज, कलकत्तामा अध्ययन गरे । जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रुपमा गए । त्यहाँ उनले नेपालको राजकाज सम्बन्धी कार्य अंग्रेज सरकारका बिच गर्दथे । कलकत्तामा निकै अनुभवहरु संगालेका उनि अंग्रेजी राम्रै बुझ्दथे । बोल्न अलि कम सक्थे । साथमा हिन्दी, उर्दु र पर्सियन भनि राम्रैसंग बुझ्दथे र बोल्दथे पनि । जङ्गले केही गर्न सक्ने भतिजाको रुपमा उनको चर्चा गर्दथे ।

नेपाल फर्किए पछि पनि उनको रहनसहन बिशेष थियो । उनि बिशेष तामझामका साथ निसाफ गर्न पुग्दथे । साथमा उनको नीजि सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका बिशेष नस्लका गाईहरुको फार्म नै थियो । सो निरिक्षण गर्न दैनिक जसो पुग्दथे । उनको खान्की तथा उनको खवाइको भाडाहरु बिशेष थियो । शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरुको तौल ३६२ तोलाको थियो । झण्डै दुइ धार्नीको उनको सुनका सामग्रीमा उनलाई खाना पस्किने गरिन्थ्यो । उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो । १२० तोलाको ३ वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो । साथै १२ तोलाको चम्चा पनि थियो ।

हिन्दु धर्म प्रति कट्टर उनि खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे । खाना खानु अगाडि कतै बिष मिसाएका हुन सक्ने भन्दै एक पण्डितलाई खान लगाएर मात्र आफू खान्थे । खान बस्ने चौकीको वरपर गाईको गोबरले लिन लगाई शुद्ध र किटाणु मुक्त गराउँथे । हरेक पटक गंगा जलले मात्र हात धुने गर्दथे । खाना पछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे । उनको लवाई पनि बिशेष हुने गर्दथ्यो । उनले लगाउने ज्याकेट बेलायतबाट मगाउँथे । प्राय उनि कोटमा भन्दा बढि ज्याकेटमा नै देखिन्थे । उनको टोपी पनि फ्रान्सेली सैनिकहरुले लगाउने “फोरेज क्याप” हुने गर्दथ्यो ।

ठूलो बुबा जङ्गबहादुर झै उनि पनि संगीत तथा नृत्यको सौखिन थिए । उनी दरवारमा सेनाको ब्याण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए । यहि सौखका कारण नेपालमा पहिलो पटक शास्त्रीय संगीतको भेला नै भएको थियो । “बगडीको जल्सा” नामले प्रख्यात यो भेलामा वीरगंज नजिकैको गाउँ बगहीमा भएको यस बृहत संगीत भेला बि.सं. १९५६ को पुसमा भएको थियो । त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरुको मेला नै लागेको थियो । सयौ संगीतकार तथा रागगायनका माहिरहरुको जमघट नै भएको थियो ।

उनले बनाएको चारबुर्जा दरवार तत्कालिन समयको आधुनिक महलमा पर्दथ्यो । वास्तुकलाविद जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरवार पछि छोरा रुद्रशमशेरलाई दिए । १९९० मा जुद्धशमशेरबाट लखेटिए पछि यो दरवार बहादुर शमशेरको हकमा पुग्यो । बहादुर भवनको नाम रहन गएको यो दरवार बोरिस द्वारा नेपालकै पहिलो होटल रोयल होटलको रुपमा रहन पुग्यो । हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय रहेको छ । यसको साथै रणोद्वीपको नारायणहिटी दरवार भत्काएर त्यहाँ नयाँ दरवार बनाउन लगाएका थिएँ । जुन दरवार आफ्ना ज्वाइ पृथ्वी वीर बिक्रमलाई दिए । जसले गर्दा पछि सम्म शाह राजाहरुको दरवारका रुपमा रहन गयो । नारायणहिटीको दायाँतर्फ बिशाल सेतो दरवार बनाए, जुन छोरा गेहेन्द्रशमशेरका लागि दिए । बायाँतर्फ फोहरा दरवार बनाए जुन छोरा प्रतापशमशेरलाई दिए । फेरी अर्को फोहरा दरवार कान्छी महारानीका लागि पनि बनाइदिए । पहिलो फोहरा दरवार राजा महेन्द्रले भत्काइ नारायणहिटी भित्र गाभे । दोश्रो फोहरा दरवार अमेरिकी राजदुतावासले किने । भाइ जुद्धशमशेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरवार बनाइदिएका थिए । छोरा धर्मशमशेरका लागि भाटभटेनी दरवार बनाइदिए । भाइ भीमशमशेरका लागि टंगाल दरवार बनाइदिएका थिए । कान्छी रानी तोपकुमारी देवीका लागि लाल दरवार बनाइदिए जुन हाल याक एण्ड यती होटलका रुपमा रहेको छ ।

यस्तै वीरशमशेरले जनताका लागि अस्पताल बनाउन लगाए । जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल रहेको थियो । यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो । पछि वीरशमशेरले नै हालको स्थानमा बिशाल भवन बनाउन लगाइ अस्पताल सारे । वीरशमशेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए । दरवार हाइस्कूलका नाममा स्कूल त थियो तर स्थाइ रुपमा भवन थिएन । वीरशमशेरले दरवार हाइस्कूलको लागि लामो टहरा रुपी भवन बनाइदिए । गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो । जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए । साथै त्यहाँ मुडुली दरवार बनाइदिएका थिए ।

उनि आफू कान्छी रानी तोपकुमारी देवीका साथ लालदरवारमा बस्दथे । उनले सो दरवारमा अत्याधुनिक सामग्रीहरुले सजाएका थिए । उनको कोठाहरु बेलायती फर्निचरहरुले सजिएको थियो । काँचका भाडाकुडा किसिम किसिमका थिए । भेनेटिएन (इटलीको) ग्लासका रुपमा प्रख्यात सामग्रीहरुले भरिएका थिए । कोठाका भुइहरुमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको ‍थियो । कोठाहरुमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो । कोठाका छतहरुमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरु झुण्ड्याइएका थिए । बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाईटहरु बालेर रातमा समेत आकर्षक बनाइएको थियो ।

No description available.

वीरशमशेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीर बिक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसंग भएको थियो । वीरशमशेरले आफ्नी रानीको लागि सुसारेको रुपमा ठिमीकी नेवार्नी खञ्जँ (उच्चारण गलत पनि हुन सक्छ) नाम गरेकी मैयाँलाई राखे । तर यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन् । जसलाई पछि तोपकुमारी नाम राखियो ।

यिनको सम्बन्धमा पनि रोचक कथा छ । रानी दिव्येश्वरीको सुसारेको रुपमा राखिएको खञ्जँ निकै राम्री थिइन् । बुबा उपेन्द्रले ति सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेनन् । एकदिन खञ्जँ राती सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए । यस घटनाले झन वीरको प्रेम खञ्जँ प्रति अझ प्रगाढ भयो । उनले उनको अनुहारको उपचार गराए साथै उनीसंग विवाह पनि गरे । साथै महारानीको दर्जा पनि दिलाए र खञ्जँको आँखा राम्रै देख्न सक्ने भयो । अनुहारमा भने केही दाग रह्यो । वीरले महारानीको दर्जा दिलाएका खञ्जँबाट जन्मिएका रुद्रशमशेर (पोखरा तथा भक्तपुरका वडाहाकिम धनशमशेरका बुबा)लाई रोलक्रममा पनि राखे । तर पछि जुद्ध शमशेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशमशेरको रोलक्रम खोसिदिए र पाल्पा धपाइए । यिनै तोपकुमारीबाट जन्मिएका दुइ छोरीलाई राजा पृथ्वी वीर बिक्रमसंग विवाह गराइदिएका थिए । वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो । लामो समयसम्म पृथ्वी वीर बिक्रमको छोराको जन्म भएन । जेठी छोरी लक्ष्मी राज्य लक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रुपमा नियुक्त गरियो । अन्तत करिव ११ वर्ष पछि बि.सं. १९६३ को असारमा पंजावबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भए पछि युवराज घोषणा गरियो ।

प्रशासनिक सुधारमा जङ्गबहादुरको बिशेष योगदान छ । उनले बनाएका चार गौडा र तिनमा रहने बडाहाकिमका काम र कर्तव्य बिभाजन गरिएको थियो । यि बडाहाकिमहरु राणा दरवारका अति नै निकटस्तहरु हुने गर्दथे । वीरशमशेरले यस प्रशासनिक कार्यमा केही सुधारहरु गरे ।

“हाजिरी गोश्वारा”को स्थापना गराइ सम्पूर्ण कर्मचारीहरुलाई नियमन गर्न मिलाए । हाजिरी देखि लिएर कामको विषयमा समेत जानकारी एकै ठाउँबाट गर्ने प्रबन्ध मिलाए । साथै शहर “सफाइ अड्डा”को स्थापना गराइ सफाइ तिर पनि ध्यान दिएका थिए । प्रशासनिक काममा सहज बनाउन तराईमा १२ “जिल्ला” र पहाडमा २३ “तहसिल अड्डा”को ब्यबस्था गरे । तहसिललाई फेरि जिल्ला तथा थुममा बिभाजन गराए । यसलाई पनि मौजा र गाउँमा बिभाजन गरे । हरेक तहसिलमा हाकिम वा वडाहाकिम रहने ब्यबस्था पनि मिलाए । तराईका जिल्लाहरुलाई पनि चार भागमा विभाजन गराए । माल अड्डाको स्थापना तथा अमिनीको ब्यबस्था पनि गराएका थिए । कानुनको सहजताको लागि “अपिल अड्डा”को स्थापना पनि गराएका थिए । वीर शमशेरले उपत्यकामा सार्वजनिक धाराको रुपमा “वीरधारा” तथा घरमा समेत धाराको प्रबन्ध मिलाएका थिए । जसको ब्यबस्थापनका लागि “पानी गोश्वारा”को स्थापना गरेका थिए ।

ठूलो बुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशमशेर निकै शंकालु भएका थिए । कतै आफ्नो हत्या गरि भाइहरु सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे । यहि क्रममा भाइ खड्गशमशेर पनि पाल्पा धपाइएका थिए । रातमा पनि ३-४ पटक कोठा फेरेर सुत्थे । निदाउँदा पनि एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिवल्वर हुन्थ्यो । कोठा बदलि गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछि पछि लाग्थे ।

वीरशमशेरका जेठा छोरा गेहेन्द्रशमशेर नेपालकै पहिलो बैज्ञानिक थिए । उनले बिभिन्न किसिमका हतियारहरु बनाएका थिए । उनको सेतो दरवारमा बिशाल ज्यासल नै बनाएका थिए । जहाँ हावाबाट चल्ने ठूला पंखाबाट बिजुली निकालेका थिए । तर दुर्भाग्य उनको केवल ३६ वर्षको उमेरमा निधन भयो । उनको अप्रत्याशित निधनलाई चन्द्रशमशेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ ।

अन्तत सन १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यबस्था सबै मिलाईनेछ । तर शिकारको निम्तो दिएको दिएको एक महिना अगाडि नै सन १९०१ मार्च ३ तदनुसार बि.सं. १९५७ फागुन २३ गते मंगलवार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशमशेरको रक्तचापका कारण देहावसान भएको थियो ।

यहाँ राखिएको अति नै गोप्य तत्कालिन समयको पत्र हो यो । यस पत्रमा काठमाडौमा बेलायती रेसिडेन्टका रुपमा रहेका हेनरी वाइली कलकत्ता गएको समय सहायक रेसिडेन्टले कलकत्तामा जानकारी पठाइएको ब्यहोरा देख्न सकिन्छ । वीरशमशेरको बेलायत भ्रमणको प्रवन्ध मिलाईदिन गरिएको आग्रहलाई कलकत्तामा रहेका भाइसराय सामु राखिदिनको लागि यो पत्र पठाइएको छ । हुन त नेपालमा भोटसंगको सम्बन्ध खटनपटन भएको हुँदा वीरशमशेरले बेलायत जाने चाहनालाई रोकेका थिए भनिए पनि वास्तवमा कलकत्तामा रहेका भाइसरायको भित्री चाह भने वीरशमशेरलाई बेलायत भ्रमण गर्न अनुमति नदिने नै देखिन्छ । बालक राजा रहेको समय आफ्नै ठूलो बुबाको हत्या गरेर बालक राजाबाट लालमोहर गरि लिएको षडयन्त्रमा अंग्रेज सरकार वीरशमशेर प्रति रुष्ट थियो । यसैले पनि उनको बेलायत भ्रमणको सपना तुहिएको थियो ।

प्रतिक्रिया